• ८ मंसिर २०८१, शनिबार

उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि

blog

रमेश लम्साल

काठमाडौँ, साउन ८ गते । भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो । 

धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुवाती प्रयास तथ्यहरुको खोजी गर्दैजाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो । 

गुरुहरुले दिएको सुझावलाई आत्मसात् गर्दैजाँदा सिस्नोसँग मितेरी साइनो लगाउने प्रयास खण्डित भयो । त्यसपछि उहाँको दिमागमा आफूसँगै हुर्केको बकाइनोको रुखको याद आयो । “मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ” श्रेष्ठले भन्नुभयो । 

नेपाली समाजमा प्रचलित लोकोक्ति छ ‘ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन ।’ कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । 

बाथरोगदेखि सेतो दुबीसम्म निको पार्ने औषधीय गुण बकाइनोमा हुन्छ भन्ने सुनेका श्रेष्ठले बुझ्दै जाँदा बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरासमेत निको भएको पत्ता लाग्यो । “नेपालको वन जङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुण बोकेको बकाइनोका बारेमा अध्ययन गर्ने निष्कर्षमा पुगेँ”, उहाँले भन्नुभयो, “तर त्यसले मात्रै मेरो अध्ययनको दायरा पुग्दैनथ्यो । त्यसपछि मैले बकाइनोसँगै कालो निउरो र अल्लोलाई पनि एक आपसमा जोडेर खोजबिन गर्ने निष्कर्ष निकालेँ ।”

विशेषतः पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो बकाइनो । वनस्पतिको आनुवांशिक अध्ययन गर्ने विषय आफैँमा सजिलो काम होइन । तर श्यामशरणले त्यही गाह्रो काम रोज्नुभयो । उमेरले साढे तीन दशक पुग्दा नै नामको अगाडि डाक्टर लेखाउने धोको थियो सायद । तर गर्दै भन्दै जाँदा त्यो धोको पूरा हुन चार दशक लाग्न गयो । सन् २०१६ देखि नै विद्यावारिधिको अध्ययन सुरु गर्ने सोच थियो, उहाँको । गोरखा भूकम्प, पारिवारिक दायित्वले थिच्यो, उहाँलाई । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै श्यामशरणले सन् २०१७ देखि अल्लो, कालो निउरो र बकाइनोको रेशा केलाउने अध्ययन सुरु गर्नुभयो । 

मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग हो । वन मन्त्रालयको वनस्पति विभाग अनि वनजङ्गल उहाँका अध्ययन क्षेत्र थिए । अनेकन अनुमति, अनेकन प्रक्रिया अनि अनेकन खोज सबै काम सँगसँगै अगाडि बढे । “उन्यूमा खासै अध्ययन भएको थिएन । त्यसमा पनि कालो निउरोका बारेमा त झनै थिएन”, उहाँले स्मरण गर्नुभयो । दक्षिणकालीको जङ्गलमा पुग्ने र निउरो खोज्ने काम नियमित हुन थाल्यो । सङ्गीता राजभण्डारी श्यामशरणको मुख्य गाइड हुनुहुन्थ्यो । 

नेपाली समाजमा प्रचलित लोकोक्ति छ ‘ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन ।’ कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । त्यो पत्ता लगाउने उनै श्यामशरण हुनुहुन्छ । 

अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।

त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, बकाइनो, अल्लो र कालो निउरोमा क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो । संसारभर नै चैतमा खरमा डढेलो लागेजसरी फैलिएको क्यान्सर रोक्न ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो । 

एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे । उहाँले अभिवादन गर्नेबित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो । अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”

विशेषतःअल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा. श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशोधनका सामग्रीसमेत यसैबाट बनाउन सकिन्छ । त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उहाँले जानकारी दिनुभयो । 

नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् । यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ । 

अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान पनि प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरीर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा पनि स्थानीयस्तरमा पहिल्यैदेखि प्रयोग हुनेगरेको छ । त्यसबाहेक यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी रहेको यसअघि नै पत्ता लागेको हो । अल्लो पछिल्ला दिनमा कार्पेट उद्योगमा पनि प्रयोग हुन थालेको छ ।

अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यातसमेत हुनेगरेको छ । नेपालमा अल्लोको कपडा बनाउने उद्योगको पनि व्यावसायिक विस्तार भएको छ । हाल अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर १२०० देखि २००० रुपियाँ सम्म छ । 

राष्ट्रियरुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न जिल्लामा अल्लोको उत्पादनमा विशेष जोड दिएको छ । अल्लोको प्रचुर सम्भावना भएको जिल्लामा  छुट्टै उद्योग स्थापना गरेर त्यसलाई व्यावसायिक रुप दिनुपर्ने माग पनि बढ्दै गएको छ । पर्वत, सङ्खुवासभाका किसानले पनि अल्लोबाट व्यावसायिक लाभ लिएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन अन्तर्गत अल्लो छनोट गरेको छ । 

अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । नेपालको वन जङ्गल, पाखा पखेरा जतासुकै पाइने कालो निउरोबाट प्राणघातक क्यान्सर रोगको औषधि बन्नसक्छ भन्ने कुरा पत्ता लागेको छ । कालो निउरो मात्रै नभई बकाइनो पनि उत्तिकै महत्वपूर्ण छ ।

बकाइनो एक बहुउपयोगी प्रजाति 

नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन् । त्यसमध्ये एक हो, बकाइनो । बकाइनोमध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो । बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ ।

बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोग केही हदसम्म ठीक हुने डा श्रेष्ठको भनाइ छ । 

बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाई पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा छर्किंदा थुप्रै किसिममा किटाणु तथा सागसब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूल गर्न सकिन्छ । खेत तथा बारीको बीचभागमा बकाइनोको बिरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागसब्जीमा लाग्ने किरालाई समेत विकर्षण गराउन सकिने सामाजिक मान्यता छ ।

बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ । सेतो दुबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठीक हुन्छ । दाद आएका खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाई कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ । पत्थरी रोगमा भएमा बकाइनोको एक चम्चा पातको रसमा र आधा चम्चा ज्वाखार मिलाएर बिहान÷बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थरी ठीक हुने प्रमाणित नै भइसकेको छ ।

यसैगरी बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्ने र चौथाइ भाग बाँकी भएपछि सिसीमा राखेर एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि दुई–चार दिनमै ठीक हुने उहाँको भनाइ छ ।

बकाइनोलाई दाँत माँझ्न पनि प्रयोग गर्न सकिन्छ । स्त्रीको मासिक धर्म धेरै पटक भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहानबेलुका खाने गरेमा उक्त समस्याबाट मुक्ति पाइन्छ । गर्भाशय शुद्धिका लागि पनि बकाइनोको पातको रस नित्य एक एक चम्चा बिहानबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुने प्रमाणित नै भइसकेको छ ।

बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण–पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो । यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटरसम्म पाइन्छ । बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ । यो चिसो र सुख्खा क्षेत्रमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केबल १०–१५ मिटर अग्लो हन्छ । सुरिलो बेलनाकार काण्डको २० मिटरसम्म हाँगा हुँदैनन् । रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन् । यो राम्ररी मुना आउने प्रजाति हो ।

निउरो नयाँ स्वाद 

श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उहाँलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके । त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भन्नुभयो । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उहाँको भनाइ छ । 

सन् २०२२ को जुलाई ४ मा मात्रै उहाँले विद्यावारिधिको उपाधि पाउनुभयो । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । 

निउरो खानुको फाइदैफाइदा छन् । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ ।

पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । यो पूर्णतः जैविक हुन्छ ।

निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ ।  यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् । 

भक्तपुरे रैथाने श्यामशरणले भन्नुभयो, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवर्धन गर्न  पीपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ छ । 

“नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवर्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा छ उहाँले भन्नुभयो, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गरौं । त्यसका लागि सरकारले नै चासो देखाओस् ।”