• १३ साउन २०८१, आइतबार

भारतमा काँग्रेस नेत्री आरजुसँगै कुनै पनि राजनीतिक विषयमा छलफल भएकाे छैन : माओवादी अध्यक्ष प्रचण्ड

blog

सर्लाहीमा भएकाे एक कार्यक्रममा अध्यक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

गोरखापत्र अनलाइन

जनकपुर, साउन ७ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा काँग्रेस नेत्री आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताउनुभएको छ ।

उहाँले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुनै नसक्ने कुरालाई प्रचार गरिएको बताउनुभयो । 

झुटो कुरालाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रचार गरिएको बताउनुहुँदै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पार्नुभयो । उहाँले तथ्यहीन र षड्यन्त्रमूलक प्रचारबाजीबाट सबै सतर्क रहन  आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष दाहालले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शङ्का नगर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यलाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला ।’

उहाँले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताउनुभयो । उहाँले अहिले नेकपा (समाजवादी केन्द्र) वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताउनुभयो । उहाँले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निष्कर्षमा पुग्ने घोषणा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘जसपा रुपमा फुटिसकेको अवस्था छ, यस अवस्थामा बाबुरामजी, माधवकुमार नेपालजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ, औचापरिक रुपमा कुनै टुङ्गोमा पुगेको छैन, छिट्टै यस विषयमा निर्णय हुनेछ ।’

वामपन्थी एकतालगायतको विषयमा गठबन्धन भित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘दिल्लीमा कांग्रेस नेत्री आरजु देउवा र आफूबीचमा कुनै प्रकारको सम्झौता भएको छैन, केही षड्यन्त्रकारीहरुले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेका छन्, यसमा कुनै पनि प्रकारको सत्यता छैन ।’