काठमाडौँ, चैत ८ गते । इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो कठोर आत्मसंयम र उपासनाको पर्व ‘रमजान’ सकिएसँगै शनिबार देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ ‘इद उल फित्र’ मनाएका छन् । देशभरका इदगाहमा सामूहिक प्रार्थना गर्दै, विभिन्न परिकार सेवन तथा एक आपसमा खुसी साट्दै उक्त पर्व मनाइएको छ ।
मुस्लिम अभियन्ता रहमतुल्लाह मियाँका अनुसार मुसलमानहरूको एक महिने रोजापछि इद–उल–फित्र मनाउने गरिन्छ । पर्वसँगै रोजा व्रत पनि सम्पन्न हुने गर्छ । अरबी सालको नयाँ महिनामा एक महिनासम्म बस्नुपर्ने रोजामा सूर्योदयपूर्वदेखि सूर्यास्तसम्म खानपिन गर्नहुँदैन । उहाँ भन्नुहुन्छ, “जिलकादा अरबी वर्षको १० औँ आज रोजा सकिएको दिन महिनाको पहिलो दिन हो । यो दिनमा रोजा सकिएको खुसियाली मनाइन्छ । सम्पूर्ण मुसलमानको महान् पर्व इद उल फित्रलाई ‘इद’ पनि भन्ने गरिन्छ ।”
एक महिनासम्म दिनमा पानीसमेत नखाई भोकै बसेको रोजेदारहरू आफ्नो घरमा औकात अनुसारका परिकार तथा मिष्ठान बनाउने गर्छन् । इष्टमित्रलाई इद मुवारक (शुभकामना) दिनका लागि एक अर्काको घरमा जानुका साथै र विभिन्न परिकार खुवाउन निमन्त्रणा गर्ने गरिन्छ । यो दिन बिहानै स्नान गरेर प्रायः सबैले नयाँ कपडा लगाउने गर्छन् । साथै बस्ना (अत्तर) समेत प्रयोग गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार इदको दिन हरेक बस्तीका सम्पूर्ण मुसलमान सामूहिक रूपमा मध्याह्नभन्दा अगाडि नमाज पढ्ने गर्छन् । जसलाई ‘इदको नमाज’ भनिन्छ । यो विशेष किसिमको नमाज भन्दा भिन्दै हुन्छ । इदको नमाज इदगाहमा पढ्ने गरिन्छ । इदगाह जाँदा पैदल जानुलाई राम्रो मानिन्छ तथा बुलन्द स्वरमा अल्लाहको स्तुति प्राथना गर्दै रहनु पर्छ ।”
यस पर्वमा चेलीबेटीलाई माइतीमा निमन्त्रणा गरी सक्दो दानदक्षिणा दिने चलन रहेको अभियन्ता मियाँ बताउनुहुन्छ । त्यसै गरी समाजका गरिब वर्गलाई सक्दो दान दिने गरिन्छ । गरिब गुरुवालाई आफ्नो सम्पत्तिबाट अढाई प्रतिशत निकाली दान गर्नु पर्छ भन्ने मान्यातासमेत छ । यसलाई ‘जकात दिनु’ भनिन्छ । जो मुस्लिम धर्मावलम्बीसँग साते सात तोला सुन वा ५२ तोला चाँदी बराबरको सम्पत्ति वर्षमा जम्मा भएको छ भने उसले ‘जकात निकाल्न’ अनिवार्य मानिन्छ । जसले गर्दा समाजमा रहेका गरिबको पनि जीवनस्तर उठ्न सकोस् । यसबाट वर्षौंदेखि ऋणमा चुर्लुम्म डुबेका व्यक्तिको टाउको उठ्न सक्छ ।
यसरी इस्लाममा खुसीको दिनमा झन् दिल खोलेर दीनदुःखीको सेवा गर्नु पर्छ र आफू जस्तै अन्य गरिब समुदायले पनि इदमा खुसियाली मनाउनु पर्छ । वर्ष दिनसम्म आफूले गरेको गल्ती वा कसैसँग गरेको दुस्मनी पनि यसै दिनमा मिली एक आपसमा सम्झौता गर्दछन् । सरकारले इदको अवसरमा शनिबार सार्वजनिक बिदासमेत दिएको छ ।