• १६ भदौ २०८१, आइतबार
blog

काठमाडौँ, साउन ६ गते ।  चलचित्र ‘हिट : द फस्र्ट केस’ २०२० मा प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्रको रिमेक हो। चलचित्रलाई निर्देशक शैलेश कोलानुले रिमेकमा निर्देशन गरेका हुन् । चलचित्रको कथा विक्रम (राजकुमार राव)को वरपर घुमेको छ, जो एउटा प्रहरीको भूमिकामा देखिएको छ । उनको विगतमा एउटा दुर्घटना भएको हुन्छ, जसलाई उनले चाहेर पनि भुल्न सक्दैनन् । उक्त दुर्घटनाको असर उनको काममा समेत पर्न थाल्छ । यससँगै उनलाई आगोसँग डराउने (फायर फोबिया)समेत भएको हुन्छ । कुनै पनि ठाउँमा आगो लागेको देख्नेबित्तिकै उनी तर्सिने र टाढा भाग्ने प्रयत्न गर्छन्। विक्रमको यो अवस्था देखेर डाक्टरले उनलाई बारम्बार जागिरबाट टाढा रहन सल्लाह दिन्छन् तर विक्रम भने डाक्टरको कुरा मान्न अस्वीकार गर्छन्। उनी डाक्टरलाई भएको यही एउटा जागिर पनि छाडे आफू पागलजस्तै हुने भनेर बताउँदै कामलाई निरन्तरता दिँदै आएका हुन्छन्। यस्तो अवस्थामा डाक्टरले विक्रमकी प्रेमिका नेहा (सान्या मल्होत्रा)लाई उनलाई सम्झाउन आग्रह गर्छिन् तर विक्रम आफ्नो कुरामा अडिग छन्। 

नेहाले विक्रमलाई एक महिनाको छुट्टीमा जान आग्रह गर्छिन् र केही समयका लागि उनी छुट्टीमा पनि जान्छन् तर ठीक त्यही समय उनकी प्रेमिका नेहा र अर्की एक युवती अपहरणमा पर्छन् र यो कुरा विक्रमको कानमा पर्छ । विक्रमलाई आफ्नो प्रेमिका र युवती दुवैलाई जसरी हुन्छ बचाउनु छ । यसपछि चलचित्रको कथामा ट्विस्ट आउन थाल्छ, जसलाई दर्शकले कथामा यस्तो पनि हुन सक्छ भनेर कल्पनासमेत गर्न सक्दैनन्। चलचित्रको निर्देशकका रूपमा शैलेशको यो पहिलो हिन्दी रिमेक हो । उनले सुरुदेखि अन्त्यसम्म चलचित्रको कथामा सस्पेन्स कायम राख्ने कोसिस गरेका छन्। चलचित्रमा कथावस्तु गतिमा अघि बढ्छ। चलचित्र हेर्दाहेर्दै धेरैको मनमा अनेकन कुराको शङ्काको सुई घुम्छ। यदि कसैले चलचित्रको दक्षिण भारतीय रिमेक हेरेको नभए चलचित्रभित्र वास्तविक अपराधीका बारेमा अनुमान मात्र गर्ने काम हुन्छ तर जब अन्त्यमा सबै कुरा उजागर हुन्छ त्यसपछि दर्शक खासै अचम्मित हुँदैनन् जुन चलचित्रको कमजोर पक्ष हो। 

चलचित्रको कथा हिउँको मैदानबाट सुरु हुन्छ जहाँ विक्रम एउटी युवतीलाई बचाउन सक्दो प्रयास गर्छन् तर सफल हुँदैनन् । विक्रम किन ती युवतीलाई बचाउन चाहन्छन् भन्ने कुरा चलचित्रको अन्त्यसम्म पनि खुलाइएको छैन । यसले यो सङ्केत गराउँछ कि चलचित्रको दोस्रो भाग अवश्य नै बन्छ । 

चलचित्रमा कलाकार राव फरक शैलीमा दर्शकसामु प्रस्तुत भएका छन् । संवेदनशीलता र तर्कका साथ, रावले फेरि एक पटक आफ्नो अभिनयले चलचित्रमा जीवन्तता ल्याएका छन् । सान्याको भूमिका कम नै भए पनि उनको अभिनय सम्झनलायक छ । अभिनेता दिलीप ताहिल, जतिन गोस्वामी, छिमेकीको भूमिकामा देखिएकी शिल्पा शुक्ला र प्रहरीको भूमिकामा मिलिन्द गुणाजीको अभिनयले पनि कथालाई ट्विस्ट बनाउन प्रभाव पार्छन् । चलचित्रमा एक्सन, सस्पेन्स र थ्रील कायम राख्न प्रयोग गरिएको गीत–सङ्गीत औसत छ ।

प्रस्तुति : सुकृत नेपाल