• २७ फागुन २०८२, बुधबार

नगर सभाको अनुभव प्रतिनिधि सभामा

blog

काठमाडौँ, फागुन २७ गते । स्थानीय तहका तीन जना जनप्रतिनिधिले नगर सभामा प्राप्त गरेको अनुभव अब सङ्घीय संसद्मा उपयोग गर्नुहुने भएको छ । नागरिकको तल्लो तहका गुनासो र समस्याबारे प्रत्यक्ष अनुभूति र सुनुवाइ गरेका ती जनप्रतिनिधि अब सङ्घीय संसद्मा कानुन निर्माणमा जुट्नुहुने छ । 

२०७९ सालको स्थानीय तह निर्वाचनबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट निर्वाचित हुनुभयो । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित हुनुभयो । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशीलकुमार कानू राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । उहाँ २०७९ सालमा वीरगन्ज महानगरपालिका वडा नं. १० बाट जनता सामाजवादी पार्टी नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । स्थानीय तहमा जनप्रतिनिधिको १४ महिना कार्यकाल बाँकी छँदै बिचैमा पदबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएका उहाँहरूको अब सङ्घीय संसद्को यात्रा निश्चित भएको हो । उहाँहरूले अब स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष जोडिएर गरेको कामको अनुभवका आधारमा प्रतिनिधि सभामा पुगेर सङ्घीय कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि सङ्घीय कानुन निर्माण गर्ने भूमिकामा पुगेसँगै सङ्घीय कानुनले स्थानीय तहमा काम गर्ने क्र्ममा भएको जटिलता फुकाउन प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

स्थानीय तहका लागि वन ऐन, शिक्षा ऐन, निजामती सेवा ऐन, सार्वजनिक खरिद ऐन परिमार्जन अभावमा स्थानीय तहमा काम गर्न कठिन हुँदै आएको छ । देवकोटाले भन्नुभयो, “उहाँहरूले नगर सभामा प्राप्त गरेको अनुभव अब प्रतिनिधि सभामा पुगेर कार्यान्वयन गर्दै सङ्घ र प्रदेश सरकारसँग बाझिएका कानुन स्थानीय तहमैत्री बनाउनुहुने छ ।” 

पराजित उम्मेदवार 

साबिक स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारीकै बिच राजीनामा दिएर उम्मेदवारी दिएका कतिपय जनप्रतिनिधि भने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा पराजित भए । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिए पनि उहाँ पराजित हुनुभयो । त्यस्तै धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जू श्रेष्ठ, काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नं. २ बाट पराजित हुनुभयो । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले पनि पदबाट राजीनामा दिएर उम्मेदवारी दिए पनि उहाँहरू पराजित हुनुभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ । त्यस्तै मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवाल, इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, उदयपुर लिम्चिङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई पनि पराजित हुनुभयो । उहाँहरू पनि कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको थियो ।