• १७ जेठ २०८१, बिहिबार

भन्सार राजस्व सङ्कलनमा कमी

blog

काठमाडौँ, साउन ५ गते । आयातमा कडाइ गरिएसँगै भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आयात उच्च दरमा वृद्धिसँगै व्यापार घाटा बढेपछि नेपाल राष्ट्र बैङ्कले केही वस्तुको प्रतीतपत्र खोल्दा राख्नुपर्ने मार्जिन बढाएको थियो । यसैगरी गत वैशाख दोस्रो सातादेखि सरकारले १० वस्तुको आयातमा लगाएको थियो । आयात नियन्त्रणको यो कदमपछि भन्सार राजस्व सङ्कलन भने प्रभावित भएको छ । यसैकारण भन्सार कार्यालयले राजस्व सङ्कलनको लक्ष्य भेट्न सकेका छैनन् ।

लक्ष्य भन्दा १९ प्रतिशत कम सङ्कलन

रङ्गेली समाचारदाताका अनुसार विराटनगर भन्सार कार्यालयले वार्षिक लक्ष्यको ८१.४१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा यो भन्सार कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख ४० हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेकामा ४० अर्ब ४२ करोड २७ लाख ७७ हजार नौ सय रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार भन्सार महसुल १५ अर्ब ३२ लाख छ हजार रुपियाँ र मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख ३० हजार असुल भएको छ । यस्तै अन्तःशुल्कतर्फ दुई अर्ब ५७ करोड ७२ लाख २८ हजार रुपियाँ र यसैगरी अन्य शीर्षकमा एक अर्ब ९७ करोड ६१ लख १६ हजार रुपियाँ राजस्व असुल भएको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो । 

लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन

बाँके समाचारदाताका अनुसार नेपालगञ्ज भन्सार कार्यालयले आव २०७८/७९ मा २२ अर्ब ३२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८८.५ प्रतिशत हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपानेका अनुसार यो राजस्व सङ्कलन आव २०७७/७८ कोभन्दा करिब डेढ अर्ब रुपियाँभन्दा बढी हो । 

भन्सार विभागले आव २०७८/७९ का लागि नेपालगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनका लागि २५ अर्ब २१ करोड रुपियाँको लक्ष्य निर्धारण गरेको थियो । “यो वर्ष लक्ष्य नै बढी भएका कारण पूरा भएन । साउन र असोज महिनामा मात्रै लक्ष्य भेट्न सफल भयौँ,” भन्सार प्रमुख न्यौपानेले भन्नुभयो । लक्ष्य बढी नै राखिएको र पुस महिनादेखि लागू भएको प्रतीतपत्रमा कडाइ तथा विभिन्न वस्तुमा लगाइएको आयात प्रतिबन्धका कारण भन्सार राजस्व लक्ष्यअनुसार पूरा हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।