प्रवीण कुमार शर्मा
रौतहट, माघ १४ गते । रौतहटमा नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले मङ्गलबार नक्कली जस्तो देखिने दुई हजार पाँच सय भारतीय रुपियाँसहित दुई जना भारतीयलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला पर्सौनीका ४२ वर्षीय राकेशकुमार साह र सितामढी सिभवर परिषद् –४ का ३० वर्षीय विक्रमकुमार पासवान रहेको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिनुभयो ।
गौर नगरपालिका – २ महादेवपट्टीस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरबाट खटिएको चेकप्वाइन्ट टोलीले बि आर ३० ए एफ ५७३१ नं. को मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका साह र पासवानलाई चेकजाँच गर्दा ५ सय दरको नक्कली जस्तो देखिने नोट १ थान र २ सय दरको नक्कली जस्तो देखिने नोट १० थान बरामद गरेको हो ।
उक्त शङ्कास्पद नोटसहित सक्कली भारतीय रुपियाँ १ सय ७७, मोटरसाइकल र एन्ड्रोड मोबाइल दुई थानसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको उहाँले जानकारी दिनुभयो ।