सुधा देव
भारदह (सप्तरी), माघ १३ गते । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका सप्तरीका उम्मेदवार आफ्ना चुनावी एजेन्डा बोकेर मतदाता रिझाउन थालेका छन् । सप्तरीको क्षेत्र नं २ बाट उम्मेदवारी दिएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत निकास र विकासको एजेन्डा बोकेर मतदाताका घर घर गएर मतदाता रिझाउन थाल्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्धकबाट राजीनामा दिएर सोही क्षेत्रमा उज्यालो पार्टीबाट चुनावमा होमिएका दीपक चौधरीले मुलुकको रूपान्तरण र भ्रष्टाचार अन्त्यका लागि उम्मेदवारी दिएको भन्दै मतदाता माझ पुग्न थाल्नुभएको छ ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामकुमार यादवले मधेशमा कृषि क्रान्ति, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्ने चुनावी एजेन्डा बोकेर मत माग्न थाल्नुभएको स्थानीय मतदाता सावित्री देवले बताउनुभयो ।
सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका रामजी यादवले सङ्घीयता बलियो बनाउन र नयाँ नेपाल निर्माण गर्न चुनावी मैदानमा उत्रिएको बताउनुभयो । क्षेत्र नं २ बाटै जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका पूर्वसिँचाइमन्त्री उमेश यादवले पनि सङ्घीयता, सुशासन र सामाजिक न्यायका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
स्वाभिमान पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कृषि क्षेत्र बलियो बनाउन चुनावमा होमिएर मतदातासँग मत मागेको बताउनुभयो ।
सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास, सुशासन र समृद्धिलाई संस्थागत गर्न चुनावी मैदानमा उत्रिएको भन्दै आफ्ना मतदाता रिझाउन टोल टोल घुम्न व्यस्त भएको स्थानीय मतदाता कविता यादवले बताउनुभयो ।
प्रतिनिधि सभाको क्षेत्र नं. १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामदेव साह आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ । नेकपा (एमाले) बाट उम्मेदवारी दिएका सुमनराज प्याकुरेलले दलित तथा पछाडि पारिएको समुदायको अधिकार सुनिश्चितका लागि उम्मेदवारी दिएको भन्दै मतदाता रिझाउन थाल्नुभएको छ ।
सप्तरी क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका तेजुलाल चौधरी तथा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका डा. बबी सिंहलगायत उम्मेदवारले आआफ्ना चुनावी एजेन्डा लिएर मतदाता रिझाउन दौडाहामा लागेको स्थानीय मतदाता धर्मेन्द्र यादवले बताउनुभयो ।