• १३ साउन २०८१, आइतबार

व्यावसायिक ड्रागन फ्रुटको खेती

blog

नविन सुवेदी

सुर्खेत, साउन ४ गते । वीरेन्द्रनगरमा पहिलो पटक व्यावसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । सरकारी र गैरसरकारी निकायको सहयोग विना वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यावसायिक खेतीको सुरुवात गरेको हो ।

एक वर्ष अघिदेखि शुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिएको हो । हालसम्म एक कुण्डल ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पद्मा रावत बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुवातीमा उत्पादन भएको ड्रागन विक्रीका लागि बजार खोजिराख्नु परेको छैन, फर्मबाटै विक्री भइरहेको छ,’ बुढाले भन्नुभयो,  ‘उत्पादन वृद्धि भएमा बाहिर लैजानुपर्ने अवस्था छैन, तर बजारसम्म लैजानुपर्ने अवस्था आएमा त्यसको तयारी पनि गरिरहेका छौँ ।’

उहाँका श्रीमान् वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गर्नुभएको हो । तर वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहनु भएको छ । करिब ७० लाखको एकल लगानीमा भाडाको २८ कठ्ठा जमिनमा फर्मले ड्रागन फ्रुटको खेती गरेको हो ।

एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको छ । ड्रागन फ्रुटको प्रति केजी मूल्य आठ सय रुपियाँ छ । भाडाको जग्गामा हाल दुई हजार छ सय ड्रागन फ्रुट लगाइएको छ । ड्रागन फ्रुटसँगै विरुवा विक्री गर्ने फर्मको लक्ष्य रहेको उहाँको भनाइ छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखि २० वर्षसम्म उत्पादन दिने गरेको छ ।

‘भारतको गुजरातबाट लगाइएको बेर्नाले व्यावसायिक उत्पादन दिन थालेको बुढाले बताउनुभयो । ‘यसलाई व्यावसायिक बनाउन लागिपरेको छु ।’ ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमा प्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको भनाइ छ । 

वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मालिका कृषि तथा ड्रागन फ्रुट फर्म । तस्बिर नवीन सुवेदी