गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकम कानुनको परिधिभित्र रहेर राम्रो निर्णय गर्नका लागि स्वतन्त्र रहेको बताउनुभएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन बिहीबार बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पार्नुभयो ।
मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रूपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताउनुभयो । आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेको उहाँले उल्लेख गर्नुभयो । प्रतिवेदनले दिएका सुझाव आगामी दिनमा हुने खरिद प्रक्रियाका लागि सहयोग हुन सक्ने उहाँको भनाइ छ ।
छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले यस अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्याङ्कनलाई प्रभावित नहुने बताउनुभयो ।
छानबिन समितिका सदस्यहरूमा सहसचिव गौरव गिरी, सहसचिव आदेश खड्का सहसचिव कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा. कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा हुनुहुन्थ्यो । मन्दिरमै आएको अनुभूति भयो
यसबिच मन्त्री खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ । मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामेरा भवन’ को बिहीबार स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाबारे जानकारी लिई समस्या समाधानका लागि भूमिका खेल्ने बताउनुभयो ।
“क्यामेरा भवनमा आउँदा श्रद्धा र सद्भाव अगाध रह्यो । मन्दिरमै आएको अनुभूति भयो,” उहाँले भन्नुभयो, “म सञ्चारमन्त्रीका रूपमा नभई विद्यार्थीको नाताले एउटा सपनाको घरमा आए जस्तो ‘फिल’ भयो किनकि रत्नराज्य क्याम्पसमा साँघुरो कक्षाकोठा, भौतिक पूर्वाधार र स्रोतसाधनको कमीका बाबजुद अध्ययन गरेको त्यो भोगाइ आज सुविधासम्पन्न भवनमा आउँदा नौलो अनुभूति भयो ।” सञ्चारमन्त्री खरेलले विभागको शैक्षिक उन्नयनका लागि सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा. कुन्दन अर्यालले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले महìवपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।
विभागका उपप्राध्यापक डा. देवराज अर्यालले ऊर्जाशील व्यक्तित्व सञ्चारमन्त्रीका रूपमा पाउँदा केन्द्रीय विभागले विकासको अपेक्षा गरेको र त्यसमा मन्त्रीको तदारुकताले प्रतिफल दिने अपेक्षा गर्नुभयो ।
लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग दुई वर्षदेखि बल्खुस्थित आफ्नै क्यामेरा भवनबाट सञ्चालन भइरहेको छ । जहाँ स्नातकोत्तर तह र दर्शनार्थी (एमफिल) एवं विद्यावारिधि (पिएचडी) सम्मका कक्षा सञ्चालन हुँदै आएका छन् ।
यसै गरी सञ्चारमन्त्री खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक एवं पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्व प्राध्यापक लालदेउसा राईसँग उहाँकै निवास पुगेर भेटवार्ता गर्नुभएको छ । मन्त्री खरेलले वनस्थलीस्थित राई निवासमा पुगेर बिहीबार भेटका साथै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । उहाँहरूबिच पत्रकारिता क्षेत्रको उन्नयन र विकास र पेसागत व्यावसायिकतालगायत सवालमा कुराकानी भएको थियो ।