अजय शाह
गौशाला (महोत्तरी), फागुन २१ गते । बिहीबार हुने मतदानका लागि गाउँघरमा निकै चहलपहल देखिएको छ । पहिलो पटक मतदान गर्ने युवा मतदानका लागि निकै उत्साहित देखिएका छन् । अध्ययन, रोजगारी, व्यापार÷व्यवसाय वा अस्थायी बसोबासका कारण गाउँभन्दा बाहिर मतदानका लागि आआफ्नो गाउँघर फर्किएका छन् । बाहिर बस्ने पनि मतदान गर्न गाउँघर फर्केको हुँदा वर्षभरि सुनसान जस्तै देखिने गाउँबस्तीमा यतिबेला दसैँ, तिहार र छठ चाडपर्वको जस्तै रौनक देखिएको छ ।
भोट के मा हाल्ने, छाप कसरी लगाउने भनेर नै मानिसबिच छलफल हुँदै गरेको देख्न सकिन्छ । कोही उम्मेदवारको पक्षमा तर्क गरिरहेका छन्, कोही विगतका कामको समीक्षा गर्दै छन् । यस गत माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि नेता÷कार्यकर्ता एक महिनाअघिदेखि नै गाउँकेन्द्रित भएर आफ्ना अभियानमा व्यस्त छन् ।
निर्वाचनअघि होलीपर्व र पछाडि शनिबार र अन्तर्राष्ट्रिय नारी दिवसको समेतलाई समेट्दा एक साता नै बिदा परेकाले पनि मतदाता आआफ्नो गाउँघर पुगेका हुन् ।
काठमाडौँमा स्नातक अध्ययन गर्दै गरेको औरही नगरपालिका–२ का अमरेश महतो बुधबार बिहानै मतदानका लागि गाउँ आइपुग्नुभयो । जेनजी समूहका अमरेश पहिलो पटक मतदान गर्ने भएर निकै उत्साहित हुँदै भन्नुभयो, “मतदान गर्नु मेरो अधिकार मात्र होइन, जिम्मेवारी र कर्तव्य पनि हो । त्यसैले होली पनि खेल्ने र भोट पनि खसाल्ने गरी आज घर आइपुगेको हुँ ।” उहाँका अनुसार गाउँमा यस पटक निकै उत्साह देखिएको छ । धेरै जसो काठमाडौँ अध्ययन गर्दै गरेका युवा मत हाल्नु आफ्नो दायित्व र अधिकार हो भन्ने बुझेर गाउँ फर्केका छन् ।
बुधबार मधेशमा होलीको रङसँगै चुनावको माहोल मिसिएको दृश्य गौशाला नगरपालिका–५, गौशाला बजारमा युवाको जमघटले देखाएको थियो । ४८ वर्षीय गौशाला निवासी मन्तोष विश्वकर्मा अढाइ वर्षपछि साउदीबाट स्वदेश फर्किनुभएको हो । घरमा परिवार, छिमेकी र साथीसँगीसँग रङ दलेर रमाइरहनुभएको मन्तोषका अनुहारमा स्वदेश फर्किएको खुसी र मतदानका लागि उत्साहित भएको भाव झल्किन्थ्यो । उहाँले भन्नुभयो, “कति वर्ष पो भयो भोट हाल्ने अवसर पाएको थिइनँ, यस पटक बिदा मिलाएर आएको छु भोट हाल्ने भनेर ।” उहाँले आफूसँगै महोत्तरी, धनुषा, सिराहा, सप्तरी र सर्लाहीसँगै काम गर्ने साथीसमेत स्वदेश फर्किनुभएको बताउनुभयो ।
बर्दीबास–३ की स्थानीय तथा सञ्चारकर्मीसमेत रहनुभएकी युवा सुभद्रा भुजेलले पनि मतदानका लागि धेरै साथी गाउँ आइपुग्नुभएको बताउनुभयो । भुजेलले भन्नुभयो, “यस पटकको चुनाव अरूभन्दा विशेष भएको हुँदा र कतिपय युवाले पहिलो पटक मतदान गर्ने भनेर पनि साथै देशको भविष्यसँग जोडिएको विषय भएकाले मताधिकार प्रयोग गर्नु आवश्यक ठानेर आइपुग्नुभएको हो ।”
गौशालास्थित रेडियो रूपान्तरका स्टेसन मेनेजर धनवीर महतोका अनुसार आफ्नो गाउँ इँटाटारमा मात्र काठमाडौँबाट १४ जना मतदाता फर्किएका छन् । उहाँले भन्नुभयो, “होली त हरेक वर्ष आउँछ तर यस वर्ष चुनावमा समेत भोट खसाल्ने र पाँच वर्षका लागि जनप्रतिनिधि छान्ने अवसर भएकोले यस पटक युवाको सहभागिता उल्लेखनीय देखिएको छ ।”
बर्दीबासका स्थानीय समाजशास्त्री नीलबहादुर लुम्रेले भन्नुभयो, “मतदानले गाउँघरमा नयाँ ऊर्जा थपेको छ । रङ, भेटघाट, बहस र राजनीतिक सचेतनासँगै गाउँहरू यस पटक चुनावलाई उत्सवका रूपमा देखिएको छ । मताधिकारप्रतिको जिम्मेवारीबोधले टाढाटाढा रहेका नागरिकलाई समेत एकै ठाउँमा आइपुगेको देख्दा पछिल्लो पटकको जेनजी पुस्तामा राजनीतिक सुझबुझ र चेतना वृद्धि भएको देख्न सकिन्छ ।” उहाँले यस पटकको निर्वाचनले प्रतिनिधि चयन गर्ने प्रव्रिmया मात्र होइन, होलीपर्व मनाउने आफन्तलाई भेटाउने र गाउँ समाजलाई पुनः जागृत गराउने अवसरका रूपमा पनि लिएको बताउनुभयो ।