• २१ फागुन २०८२, बिहिबार

शान्ति र विकासको कामना गर्दै सुर्खेतमा मतदान

blog

मतदान गरेर फर्कँदै एक सय वर्षीया देउकली पौडेल जैसी मतदान गर्न जानुहुँदै । तस्बिरः ललित बसेल

ललित बसेल
सुर्खेत, फागुन २१ गते। 
देशमा शान्ति छाओस् र छिटो विकास होस् भन्ने कामना गर्दै सुर्खेतका मतदाताले मतदानमा सहभागिता जनाएका छन्। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सहभागी ज्येष्ठ नागरिकहरूले मुलुकको शान्ति र विकासको कामना गरेका हुन्।

वीरेन्द्रनगर नगरपालिका–४, भैरव मावि मतदान केन्द्रमा मतदान गर्नुभएकी १०० वर्षीय देउकली पौडेल जैसीले देशमा शान्ति कायम रहोस् र विकास छिटो होस् भनेर मतदान गरेको बताउनुभयो। पञ्चायतकालदेखि गणतन्त्रकालसम्मका सबै निर्वाचनमा सहभागी भइसकेको अनुभव साझा गर्दै उहाँले कामको लागि विदेश जानु नपरोस् र देशको विकास छिटो होस् भन्ने कामना व्यक्त गर्नुभयो।

मतदान सुरु हुनासाथ ९१ वर्षीय रत्नप्रसाद कोइराला र ९० वर्षीय रामेश्वरप्रसाद उपाध्यायले पनि मतदान गर्नुभएको थियो। उहाँहरूले आन्दोलनका नाममा नेपालीका सन्तान मर्नु नपरोस् भन्ने कामना गर्नुभएको छ।

सुर्खेत क्षेत्र नं. २ का प्रायः सबै उम्मेदवारले आफ्ना वडा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ।

कांग्रेसका उम्मेदवार नारायण कोइरालाले वीरेन्द्रनगर नगरपालिका–९, शिव मावि मतदान केन्द्रबाट, एमाले उम्मेदवार कुलमणि देवकोटाले वीरेन्द्रनगर–११, चन्द्रगंगा मावि मतदान केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश सापकोटाले वीरेन्द्रनगर–७ बाट र  नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले पनि वीरेन्द्रनगर मतदान केन्द्रबाट मतदान गर्नुभयो।
पूर्वमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर–१, सरस्वती प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ।

१० बजेसम्म मतदान अवस्था
कर्णाली प्रदेशमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार १० बजेसम्म करिब ३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले मतदान शान्तिपूर्ण भइरहेको र हालसम्म करिब ३ प्रतिशत मत खसेको जानकारी दिनुभयो।