दाङ समाचारदाता
दाङ, फागुन १९ गते । देशभरका थारू समुदायले यस वर्ष पनि परम्परागत ढङ्गले ढुरहेरीपर्व धुमधामसाथ मनाइरहेका छन् । प्रकृति र भूमिसँग गहिरो सम्बन्ध राख्ने थारू समुदायका लागि ढुरहेरी उत्सवको पर्व मात्र नभई सांस्कृतिक प्रतीकसमेत हो ।
थारू समुदायले ढुरहेरीलाई ‘फगुवा’ पनि भन्ने गर्दछन् । फागुनमा पर्ने भएकाले यस पर्वलाई फगुवा भनिएको थारू कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरीले बताउनुभयो । उहाँका अनुसार ढुरहेरी अबिर र रङको पर्व मात्र नभई मौलिक लोकसंस्कृति र संस्कारसँग जोडिएको पर्व पनि हो ।
ढुरहेरीका दिन गाउँका भुह्यारथान र खुला बारीमा सामूहिक पूजापाठ गरिन्छ । पर्वको अघिल्लो बिहान गाउँका सबै गरढुर्या (घरमुली) मटाँवाको घरमा जम्मा भई जिम्मेवारी बाँडफाँट गर्छन् । पूजाका लागि रकम सङ्कलन, पिठो पिसाउने, रोटी पकाउने, दाउरा, गुइँठा सङ्कलनको तयारीमा जुट्छन् । सबै तयारीपछि गरढुर्याहरू नुहाइधुवाइ गरी ‘गन्यारी’ नामक काठबाट नयाँ आगो निकाल्छन्, जसलाई थारू भाषामा ‘लौव आगी’ भनिन्छ । यही नयाँ आगोले झझ्रा रोटी पकाई भुह्यारथानमा पूजापाठ गर्ने गरेको घोराही–१७, गुलरियाका मटाँवा रामप्रसाद चौधरीले जानकारी दिनुभयो । योसँगै सिमलको हाँगा गाउँको खुला बारीमा गाडेर त्यसैमा मुनि आगो सल्काइन्छ । “पूजापछि गाउँका प्रत्येक घरका गरढुर्याहरू त्यही सिमलमुनि रहेको नयाँ आगो लिन आउँछन्,” उहाँले भन्नुभयो । यही आगो घरमा लिएर देउताको अगाडि बत्ती बालिन्छ र वर्षभरि त्यही आगोले खाना पकाएर खाने परम्परा रहेको उहाँले बताउनुभयो ।
यस्तै ढुरहेरीका दिन पुरानो आगो फालेर नयाँ आगो राख्ने विशेष प्रचलन रहेको घोराही उपमहानगरपालिका–७, सिसहनियाका थारू अगुवा बेझलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार घरको चुलोछेउँको ‘कर्सी’ मा वर्षभरि आगो राखिन्छ । जसलाई ढुरहेरीका दिन बिहान लिपपोत गरेर नयाँ आगो राख्नका लागि तयार गरिन्छ । “नयाँ आगोले पकाएको खाना स्वादिलो र पवित्र हुने थारू समुदायमा विश्वास रहेको छ, बिरामी नपर्ने र घरमा शान्ति समृद्धि कायम रहन्छ,” उहाँले भन्नुभयो । थारू समुदायले परम्परागतदेखि ढुरहेरीलाई सांस्कृतिक र प्राकृतिक जीवनशैलीको प्रतीकका रूपमा मनाउँदै आएको उहाँको भनाइ थियो ।