ढोरपाटन समाचारदाता
बागलुङ, फागुन १९ गते । प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङका १३२ मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने ४९ प्रकारका विभिन्न सामग्रीसहित मतपेटिका, मतपत्रसहित कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा जान थालेका छन् । सोमबार बिहानदेखि मुख्य निर्वाचन कार्यालयबाट मतदान सामग्रीसहित कर्मचारी पठाउन थालिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित सुरक्षाकर्मी, कर्मचारी मतदान केन्द्रमा पठाउन थालिएको मुख्य निर्वाचन अधिकारी सीतादेवी शर्मा अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भोलिसम्ममा सबै मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामग्री पुग्ने छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।” बागलुङमा दुई अस्थायी गरी कुल २३२ मतदान केन्द्र र १०९ मतदान स्थलमा आवश्यक सामग्रीसहित कर्मचारी खटनपटन गरिएको छ । निर्वाचनका लागि सामग्रीसहित २३२ मतदान अधिकृत र १३२ सहायक मतदान अधिकृत मतदान केन्द्रमा खटिएका छन् ।
निर्वाचनका लागि सम्पूर्ण सामग्री पठाउने र शान्तिसुरक्षाको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षामा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन भइसकेका उहाँले बताउनुभयो । विगतका दिनलाई हेरेर अति संवेदनशील, संवेदनशील र साधारण गरी तीन तहमा वर्गीकरण गरी सुरक्षाव्यवस्था मिलाइएको प्रजिअ आचार्यले बताउनुभयो । बागलुङमा कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् ।
स्याङ्जामा पनि हिँडे कर्मचारी
यसैबिच वालिङ समाचारदाता राधाकृष्ण डुम्रेका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्याङ्जामा अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरणसँगै नियुक्तिपत्र दिइएको छ । नियुक्तिपत्र लिएका कर्मचारी निर्वाचन सामग्री बोकेर मतदान स्थलतर्फ लागेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जा क्षेत्र नम्बर १ मा १७२ जना मतदान अधिकृत र १७२ जना सहायक मतदान अधिकृत तथा क्षेत्र नम्बर २ मा १५१ जना मतदान अधिकृत र १५१ जना सहायक मतदान अधिकृतसहित झन्डै दुई हजार कर्मचारी निर्वाचनमा खटिँदै छन् ।
जिल्लाभर रहेका १९९ मतदान स्थल अन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा सोमबार नै कर्मचारी पुग्ने स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकरी दिनुभयो । स्याङ्जाको क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित ११ दलका १२ जना र क्षेत्र नं. २ मा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यसै गरी क्षेत्र नं. २ अन्तर्गत सबैभन्दा टाढा रहेको कालीगण्डकी गाउँपालिकाबाट निर्वाचन सामग्री वितरण गर्न सुरु गरिएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।