अर्जुन कार्की
काठेखोला (बागलुङ), फागुन १९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् ।
बागलुङको सदरमुकाम बागलुङ बजारबाट मतपत्रसहितका निर्वाचन सामग्री बुझेर कर्मचारीहरु मतदानस्थल प्रस्थान गरेका हुन् ।
सोमबार मतपत्र र मतपेटिकासहितका सामग्री लिएर कर्मचारीहरु मतदानस्थलतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृत र सहायक कर्मचारी तथा सुरक्षाकर्मीको टोलीसहित सामग्रीहरू मतदानस्थलमा पठाइएको हो ।
निर्वाचन कार्यालयले मतपत्रसहित पचास प्रकारका निर्वाचन सामग्री मतदान स्थलका लागि पठाएको छ । मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, मार्कर, मतदाता नामावली, छेकाबार लगायतका मतदानका दिन आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू मतदान अधिकृतलाई जिम्मा लगाएर पठाइएको निर्वाचन कार्यालय प्रमुख रिजालले बताउनुभयो ।
बागलुङमा एक हजार ३८० कर्मचारी निर्वाचनका लागि खटिँदै छन् ।
दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक सय ७ वटा मतदान स्थल र २ सय ३० मतदान केन्द्र रहेका छन् । जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र रहेको रिजालले बताउनुभयो ।
बागलुङमा पुरुष ९८ हजार ५ सय ७४ जना, महिला ९४ हजार ८ सय ६ र अन्य १ जना गरी कूल एक लाख ९३ हजार ३ सय ८१ मतदाता छन् ।