अमरराज नहर्की
तनहुँ, फागुन १९ गते । तनहुँमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले संयुक्त रूपमा सूचना जारी गर्दै मतदानको अघिल्लो ४८ घण्टादेखि निर्वाचन प्रचारप्रसार लगायतका सम्पूर्ण गतिविधिमा रोक लगाएका हुन् ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता बमोजिमका प्रतिबन्धात्मक नियमहरू कार्यान्वयनमा ल्याइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीद्वारा जारी विज्ञप्ति अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि अर्थात् चैत १८ गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्मको अवधिलाई विशेष संवेदनशील समयका रूपमा लिइएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाइने व्यवस्था गरिएको छ ।
यसैगरी, मतदान हुने दिनको ४८ घण्टा अगावै मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्रीहरू हटाउनुपर्ने निर्देशन दिइएको छ । निर्वाचन आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको छ ।
विशेष गरी सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट गर्न, सेयर गर्न वा प्रतिक्रिया दिन समेत निषेध गरिएको छ । प्रशासनले जिल्लास्थित राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको पूर्ण पालना गर्न र निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।