गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १९ गते । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ ।
चुनावी माहोललाई पर राखेर सबै जना रङको पर्वमा रमाएका थिए । सुन्धारादेखि वसन्तपुरको डबलीसम्म होलीको रमझममा विशेष गरी युवापुस्ता र पर्यटक रमाएका थिए । होलीलाई लक्षित गरी अस्ट्रेलियादेखि नेपाल आएका विदेशी पर्यटक एड्रिन भन्नुहुन्छ, “होली खेल्न नेपाली साथीसँग १५ दिनका लागि यहाँ आएको हुँ ।” उहाँलाई रङसँग खेल्न मन पर्ने भएकाले होली मनाउन नेपाल आएको बताउनुभयो ।
यसबिच धलासिक्वका मानन्धर समूहले परम्परा अनुसार नागार्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीबिरङ्गी ध्वजासहितको चीर ढालेपछि पहाडको होली सम्पन्न भयो । हनुमानढोका दरबारस्थित नासल चोक, मोहनकाली चोक, लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर ढालिएको थियो । चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो । सोमबार मध्यरातमा चीर ढालेपछि फागुपर्व सम्पन्न भएको मानिन्छ ।
यसै गरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । यसै गरी भक्तपुरमा होलीका परम्परागत लोकभाका र गीतसङ्गीत गाउँदै, नाच्दै होलीपर्व मनाइएको थियो । फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलः ले आआफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित आपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाएका छन् ।
वसन्त ऋतुको आगमनसँगै रुखबिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौन रसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो ।
उहाँका अनुसार १७ औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । कृषि पेसामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजीमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त सङ्गीत गुन्जने गरेको उहाँको भनाइ छ । फागुपर्वले मानिसमा विद्यमान भेदभाव अन्त्यको सन्देश दिने उल्लेख गर्दै धौभडेलले केटाकेटी, युवा, सबै जातजाति फागुको रङमा रङ्गिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको जानकारी दिनुभयो ।