• १३ असार २०८१, बिहिबार

श्रीलङ्कामा राष्ट्रपति पदका लागि तीनजना चुनावी दौडमा

blog

काठमाडौं, असार ३ गते । श्रीलङ्काको आर्थिक सङ्कट टार्नका लागि भएको लामो आन्दोलनपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जुलाई २० तारिख (बुधबार)मा चुनाव हुँदैछ । सो चुनावमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमेसिंगेसहित तीनजना प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनाव हुनु एकदिन अगाडि कार्यवाहक राष्ट्रपति विक्रमेसिंगेले सङ्कटकाल लागू गर्नुभएको छ । यसैबीच, उहाँको राजीनामाको माग राख्दै श्रीलङ्कामा विद्यार्थीहरुले प्रदर्शन गर्ने तयारी गरेका छन् ।


राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएर देश छोडेपछि टापु देशमा नयाँ नेतृत्वको खोजी भएको हो । देशको आर्थिक सङ्कट समाधान गर्न नसकेको आरोप लगाउँदै महिनौं दिनदेखि भएको प्रदर्शनलाई पनि निस्तेज पार्न असमर्थ भएपछि दशकौं लामो पारिवारिक विरासतसहित राजापक्ष सत्ताच्युत हुनुभएको हो । 

चुनावी दौडमा ७३ वर्षीय कार्यवाहक राष्ट्रपति विक्रमेसिंगेले श्रीलङ्का पोदुजना मेरामुना (एसएलपीपी) पार्टीबाट विद्रोह गरी छुट्टै समूहमा रहनुभएका बौद्धमार्गी राष्ट्रवादी ६३ वर्षीय डुल्लास अलाहाप्पेरुमा र वामपन्थी पार्टी जनाथा भिमुक्थी पेरामुना (जेभिपी)बाट ५३ वर्षीय अनुरा कुमारा डिस्सानायाकेसँग प्रतिस्पर्धा गर्नुहुनेछ । कार्यवाहक राष्ट्रपति विक्रमेसिंगे यसअघि प्रधानमन्त्रीको रुपमा कार्यरत रहनुभएको थियो ।

यसैबीच, श्रीलङ्काको मुख्य विपक्षी दल समागी जन बालावेगया पार्टीका नेता ५५ वर्षीय साजिथ प्रेमादासाले डुल्लास अलाहाप्पेरुमालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रेमादासाका अनुसार उहाँको पार्टी र विपक्षी दलहरुले डुल्लास अलाहाप्पेरुमालाई विजयी बनाउन कसरत गर्ने विषयमा ट्वीट गर्नुभएको छ ।

डुल्लास अलाहाप्पेरुमा पूर्व सूचना तथा सञ्चारमन्त्री र स्तम्भकारको रुपमा चिनिनुहुन्छ । उहाँ वामपन्थी विचार राख्ने व्यक्तित्व पनि हुनुहुन्छ । सन् २००५ देखि मन्त्री बनेर श्रीलङ्काको सेवा गर्दै सामाजिक व्यक्तिको रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको छ ।


२२५ सदस्य रहेको श्रीलङ्काको संसदमा पहिलो पटक सभामुखले भोट राख्नुहुनेछ । यस्तो घटना श्रीलङ्कामा दुर्लभ मानिन्छ । सन् १९७८ देखि राष्ट्रपति चुनावी इतिहासमा अहिलेसम्म सभामुख र सांसदहरुले भोट हालेका छैनन् ।

सन् १९८२, १९८८, १९९४, १९९९, २००५, २०१०, २०१५, २०१९ मा मध्यावधि चुनावमार्फत राष्ट्रपति चुनिएको थियो ।

सन् १९९३ मा राष्टपति रनसिघें प्रेमाडासाको हत्या भएपछि संसदले विना चुनाव डीबी विजेटुंगालाई प्रेमाडासाको बाँकी कार्यकालको जिम्मेवारी सुम्पेको थियो ।

२२५ सदस्य रहेको संसदमा एसएलपीपी पार्टीका करिब एकसय सांसदहरु रहेका छन् । संसदबाट निर्वाचित हुने नयाँ राष्टपतिले नोभेम्बर २०२४ सम्म श्रीलङ्काको भाग्य र भविष्यलाई नयाँ दिशामा लग्नुहुनेछ । –उपेश महर्जन (टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस)