रमेश विश्वकर्मा
गुल्मी, फागुन १३ गते। गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण र सेवन कार्यलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
उहाँका अनुसार सर्वदलीय बैठकमा भएको सहमति अनुसार जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षालाई मध्यनजर राखी यहि फागुन १६ देखि २१ गतेसम्म गुल्मी जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन कार्यमा रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा बिक्री–वितरण र सेवन कार्यलाई रोक लगाएको हो।
यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने बताइएको छ। त्यसैगरी फागु पूर्णिमा (होली पर्व) का अवसरमा हुने अवाञ्छित क्रियाकलाप एवम् सो पर्वका कारण निर्वाचन सुरक्षामा पर्न सक्ने प्रभावलाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिले होली पर्वलाई पर्वको सांस्कृतिक महत्वको संरक्षण हुने गरी पारिवारिक रूपमा सानो समूहमा मनाउन र ठुलो जमघटका कार्यक्रमहरू नगर्न आग्रह गरेको छ।
जबरजस्ती रूपमा कसैलाई रङ नलगाउन एवं दुर्गन्धित पानी तथा अन्य निषेधित वस्तुहरूको प्रयोग नगर्न, सामाजिक, सांस्कृतिक एवं राजनीतिक सद्भाव विथोल्ने किसिमका क्रियाकलापहरू सञ्चालन नगर्न सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ। होली पर्वका समयमा सद्भाव खलबलिन नदिने गरी निर्वाचन प्रचार–प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई अनुरोध गरिएको छ।