• १३ फागुन २०८२, बुधबार

बाँके–२ का कांग्रेस उम्मेदवार कोइरालाले सङ्कल्प–पत्र सार्वजनिक

blog

सङ्कल्प-पत्र सार्वजनिक गर्दै बाँके–२ का कांग्रेस उम्मेदवार कोइराला। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन १३ गते ।
नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफ्नो सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ।

सङ्कल्प–पत्रमा कानुन–न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग–व्यवसाय प्रवर्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, युवा खेलकुदको उत्थान, साथै धर्म–संस्कृति जगेर्नाप्रति प्रतिबद्धता बुँदागत रूपमा समेटिएको छ।

उम्मेदवार कोइरालाले बुधबार सार्वजनिक कार्यक्रममा लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुशासनतर्फ उहाँले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीतिलाई कार्यान्वयन गर्ने, जिम्मेवार तहमा रहेका सबैलाई आफ्नो काम र कर्तव्यप्रति जवाफदेही बनाई असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति–संस्कृति अवलम्बन गर्ने प्रतिबद्धता सङ्कल्प–पत्रमा समेटिएको जानकारी दिनुभयो।

भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा बृहत् चक्रपथ (रिङ रोड) निर्माण, नेपालगन्ज–डुडुवा क्षेत्रका सडक, ढल र नाला निर्माणमा विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रका फुसको छानालाई विस्थापित वैकल्पिक छानोले प्रतिस्थापन गर्ने लगायतका योजना सङ्कल्प–पत्रमा रहेका छन्।

उहाँले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने, नेपालगन्ज–दिल्ली लगायत भारतीय सहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, राप्ती (सिधनियाघाट) क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ।

स्वास्थ्य क्षेत्रमा भेरी अस्पताललाई ५ सय शय्याको स्तरोन्नति गर्ने, पुरानो ओपिडी ब्लक भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउने, तथा खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतका खेल मैदान निर्माणका पहल गर्ने प्रतिबद्धता पनि सङ्कल्प–पत्रमा समावेश गरिएको छ।

कार्यक्रम नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारी, सङ्कल्प–पत्र तयारी समितिका सदस्य ललितकुमार रौनियार, प्रचार–प्रसार समितिका सदस्य उमा थापा मगर र क्षेत्र नम्बर २ का संयोजक सुनिलसिंह हमाललगायतले जनताका चाहनाहरू सङ्कल्प–पत्रमा समेटिएको बताएका थिए।