बबई समाचारदाता
बबई (बर्दिया), फागुन १२ गते । दुई वटा निर्वाचन क्षेत्र भएको बर्दिया जिल्लामा राजनीतिक दल र उम्मेदवारका लागि सबैभन्दा ठुलो चुनौती वन्यजन्तु व्यवस्थापन रहेको छ । निर्वाचनको समय नजिकिँदै जाँदा स्थानीय मतदाताले वन्यजन्तु व्यवस्थापन गर्नेलाई मतदान गर्ने बताएका छन् । बर्दियामा गत साउनयता मात्र सामुदायिक वनक्षेत्र र वन क्षेत्रसँग जोडिएका गाउँमा १० जनाले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र निकुञ्ज आसपासका गाउँबाट पनि ज्यान गुमाएका छन् ।
दिनप्रतिदिन वन्यजन्तुको आक्रमण बढ्दै जाँदा स्थानीयले भने निर्वाचनको अनुभूतिसँगै उम्मेदवारले वन्यजन्तुको नियन्त्रणको प्रतिबद्धता जनाउनुपर्ने माग गर्दै आएका छन् । गुलरिया नगरपालिका–४, तुलसीपुरका स्थानीय हेमु योगीले वन्यजन्तु व्यवस्थापनको समस्या जटिल बन्दै गएको बताउनुभयो । निर्वाचनमा मत माग्न आउने उम्मेदवारले वन्यजन्तु नियन्त्रणको प्रतिबद्धतासमेत जाहेर गर्दै आउनुभएको छ ।
बर्दियाको गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकाका सामुदायिक वनक्षेत्र अन्तर्गतको जोखिम रहेका स्थानीय तह छन् । ठाकुराबाबा नगरपालिका, गेरुवा गाउँपालिका, बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतका जोखिमयुक्त स्थानीय तह हुन् । मधुवन नगरपालिका–६ का भोदुराम चौधरीले वन्यजन्तुको समस्याका कारण पनि स्थानीयले निर्वाचनको अनुभूति गर्न नपाएको बताउँदै वनजङ्गलसँग जोडिएका गाउँमा दिनरात वन्यजन्तुको त्रास रहेका कारण यसको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।
चौधरीले भन्नुभयो, “अब उम्मेदवारले वन्यजन्तुको व्यवस्थापनको उचित खाका लिएर मतदाताको घरमा पुग्नु पर्छ । बर्दिया राष्ट्रिय निकुञ्जभन्दा पनि सामुदायिक वनक्षेत्रमा वन्यजन्तु चितुवाको आक्रमण अधिक मात्रामा बढ्दै गएको पाइन्छ ।”
गुलरिया नगरपालिका–४ का गणेश शर्माले सधैँ चुनावमा एजेन्डा प्रस्तुत गर्ने दलले यस पटकको निर्वाचनमा वन्यजन्तुको व्यवस्थापनको एजेन्डा ल्याउनुपर्ने बताउनुभयो । बर्दिया क्षेत्र नं. १ मा २१ जना र क्षेत्र नं. २ मा १८ जनाले उम्मेदवारी दिनुभएको छ ।