• १३ फागुन २०८२, बुधबार

सडक र पुल बनाइदिन स्थानीयको माग

blog

सिमलतारा–गहतेरा–मुलवारी हुँदै हाँसीपुर जोड्ने सडकअन्तर्गत पर्ने अर्जुनखोला । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन १३ गते ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयले सडक र पुललाई प्राथमिकता दिन उम्मेदवारलाई आग्रह गरेका छन् । भौगोलिक रूपमा विकट मानिने ७ र ८ नं. वडाका का स्थानीयले बाह्रै महिना सवारीसाधन चल्ने गरी सडक र पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

बंगलाचुली वडा नं. ७ र ८ अन्तर्गत पर्ने रानीबास, हाँसीपुर, गोठीवन, जबरकोट, कोइरालेसँगै प्रदेश राजधानी राप्ती उपत्यकालाई जोड्ने वीपी मार्गको स्तरवृद्धिमा ढिलाइ हुनुका साथै अर्जुन खोलामा पुल नबन्दा हिउँदमा यातायातक साधन चले पनि वर्षातमा नचल्ने भएकाले स्थानीयलाई समस्या हुने गरेको छ । त्यसैले १२ महिना यातायातका साधन चल्ने गरी सडकको स्तरोन्नति गरिदिन स्थानीयले आग्रह गर्दै आएका छन् ।

उक्त सडकखण्डअन्तर्गत पर्ने अर्जुन खोलामा पुल निर्माणसँगै सडकको स्तरोन्नति गरेर कालोपत्रे भए बंगलाचुली गाउँपालिका–८ हाँसीपुरबासीलाई सहज हुने ४४ वर्षीय कुलबहादुर घर्ती बताउनुहुन्छ । प्रदेश राजधानी राप्ती उपत्यकासँग दाङ उपत्यकालाई जोड्ने वैकल्पिक सडकका रूपमा रहेको वीपी मार्गलाई प्राथमिकतामा राख्न उम्मेदवारसँग उहाँको अनुरोध छ । सडकलाई स्तरोन्ति गरेर कालोपत्रे गर्दा बंगलाचुली गाउँपालिकाको दक्षिणी क्षेत्रका स्थानीयलाई घोराही बजारसम्म आवागमनमा सहज हुनुका साथै प्रदेश राजधानीसम्म पुग्न समेत सहज हुने घर्ती बताउँनुहुन्छ ।

उहाँका अनुसार स्थानीयले २०६४ सालदेखि हरेक निर्वाचनमा उम्मेदवारलाई सडकको स्तरवृद्धिसँगै खोलामा पुल निर्माण गरिदिन माग गरेपनि अहिलेसम्म पूरा हुन सकेको छैन । उहाँले भन्नुभयो, ‘‘प्रत्येक निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग सडकसँगै खोलामा पुल बनाइदिन माग गर्छौँ, उम्मेदवारले आफूलाई जिताए पुल र सडक बनाइदिने भनेर पक्का वाचा गर्नुहुन्छ तर अहिलेसम्म वाचा पूरा भने भएको छैन ।’’

अर्जुन खोलामा पुल नहुँदा वर्षातको समयमा सवारी आवागमनमा समस्या हुने गरेको छ । जसका कारण स्थानीयलाई घोराही आउ जाउ गर्न मात्र नभई विद्यार्थीलाई विद्यालयसम्म पुग्न समेत अप्ठेरो भएको बंगलाचुली गाउँपालिका–८ रानीवास निवासी शिवलाल गिरी बताउनुहुन्छ । भौगोलिक विकटताका कारण निर्वाचनको समयमा मात्र उम्मेवार गाउँ आउने, सडक र पुलको व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई फकाउने गरेकाले आफूहरू विकासमा पछाडि परेको उहाँ बताउनुहुन्छ ।

सडक र पुलको समस्यासँगै स्वास्थ्य, विद्युत र खानेपानीको समस्या पनि उस्तै छन् । ‘‘गाउँमा सडक र पुल मात्रै पनि राम्रो भइदिए बिरामी अस्पतालसम्म र बालबालिकालाई विद्यालयसम्म पुग्न सहज हुन्थ्यो’’, उहाँले भन्नुभयोे, ‘‘गाउँको मुख्य सडकको अवस्था नराम्रो भएपछि समस्या जस्ताको त्यस्तै छ ।’’

स्थानीय तहको निर्वाचनदेखि प्रतिनिधि सभा निर्वाचनसम्म प्रचारप्रसारका लागि आउने उम्मेदवार समक्ष स्थानीयले सडक र पुलबारे जानकारी गराए पनि जितेर गएका उम्मेदवारले प्राथमिकतामा नराख्ने गरेको स्थानीयको गुनासो छ ।

पछिल्ला दुई दशकको अवधिमा भएका चार वटा निर्वाचनमा क्षेत्र नं. २ मा जित्ने उम्मेदवार फेरिए पनि गाउँका आधारभूत समस्यालाई कसैले सम्बोधन नगरेको स्थानीय बताउछन् । स्थानीयले गाउँमा चुनाव प्रचारका लागि आउने सबै उम्मेदवारलाई सडक र खोलामा पुल निर्माण गरिदिने माग गर्ने गरेका छन् ।