• १३ फागुन २०८२, बुधबार

आचारसहिंताबारे दलहरूसँग छलफल

blog

खलङ्गा समाचारदाता  

जाजरकोट, फागुन १३ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात वटा स्थानीय तहमा रहेका १४६ वटा मतदान केन्द्रमा आठ सय बढी कर्मचारी खटिएका हुन् । 

मुख्य निर्वाचन कार्यालयका अधिकृत दुर्गाप्रसाद खनालका अनुसार निर्वाचनका लागि जाजरकोटमा ८८३ जना कर्मचारी तोकिएका छन् । निर्वाचनलाई व्यवस्थित बनाउन जाजरकोटमा करिब तीन हजार बढी सुरक्षाकर्मी र ८८३ जना कर्मचारी खटिने छन् । उहाँले १४६ वटा मतदान स्थलमा १४६ जना निर्वाचन अधिकृत, १४६ जना सहायक निर्वाचन अधिकृत र ५९१ जना कर्मचारी तोकिएको बताउनुभयो । निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतलाई बुधबार तालिम दिएर निर्वाचन स्थलमा खटाइने छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । 

आचारसंहिता पालना 

सिँजा समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जुम्लामा सर्वदलीय छलफल गरिएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्ला तथा जिल्ला निर्वाचन कार्यालय जुम्ला को आयोजनामा सम्पन्न बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने विषयमा व्यापक छलफल भएको हो ।

बैठकमा राजनीतिक दलका प्रतिनिधिलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको थियो । प्रचारप्रसारका क्रममा भड्किलो नाराबाजी, गलत सूचना प्रवाह, मतदातालाई प्रलोभन दिने गतिविधि तथा सामाजिक सञ्जालको दुरुपयोग नगर्न विशेष ध्यानाकर्षण गराइएको छ । 

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचनलाई शान्त, व्यवस्थित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा मतदाताको साझा जिम्मेवारी रहने बताउनुभयो । आचारसंहिता उल्लङ्घन भए कानुनबमोजिम कारबाही गरिने उहाँले चेतावनी दिनुभएको छ । पत्रकारसँगको अन्तर्क्रियामा तथ्यपरक, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।  नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले निर्वाचनमा बालबालिकाको प्रयोग भइरहेको, जनप्रतिनिधि आफ्नै पालिकामा प्रचारमा गइरहेको भए पनि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सूक्ष्म अनुगमन नगरेको गुनासो व्यक्त गर्नुभयो ।  जुम्लाका ११० मतदान केन्द्र र ८५ वटा मतदान स्थल केन्द्र रहेका छन् । 

कर्मचारीलाई अभिमुखीकरण

सल्यान समाचारदाताका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सल्यान जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण सञ्चालन गरिएको छ । जिल्लाभरका मतदान केन्द्रमा खटिने कर्मचारीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका ११७ मतदान स्थल अन्तर्गत २०५ मतदान केन्द्रमा खटिने ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई दुई दिनभित्र अभिमुखीकरण प्रदान गर्ने व्यवस्था मिलाइएको छ । अभिमुखीकरणमा मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता परिचयपत्र परीक्षण, मतपत्र प्रयोग विधि, शङ्कास्पद अवस्थाको व्यवस्थापन, निर्वाचन आचारसंहिता पालना तथा मतगणना प्रक्रियाबारे विस्तृत जानकारी दिइएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले मतदानका क्रममा उत्पन्न हुन सक्ने चुनौती र समाधानका उपायबारे स्पष्ट निर्देशन दिइएको बताउनुभयो । 

जिल्लामा यस पटक एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

 दलहरू आचारसंहिताभित्रै

सुर्खेत समाचारदाताका अनुसार यही राजनीतिक दलले आफ्ना प्रचारप्रसारका गतिविधि निर्वाचन आचारसंहिताभित्र गरिरहेको पाइएको छ । निर्वाचन आयोगद्वारा गठित जिल्ला आचारसंहिता अनुगमन समितिले फागुन १० गतेसम्मको दलहरूको चुनावी गतिविधि निर्वाचन आचारसंहिताभित्र भइरहेको पाइएको जनाएको हो । 

नेपाल पत्रकार महासङ्घले सुर्खेतमा आयोजना गरेको निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक एवं सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले दलहरूले आचारसंहिता उल्लङ्घन गरेको कुनै पनि लिखित उजुरी नपरेको बताउनुभयो । 

उहाँले लिखित उजुरी नपरेपछि दलका गतिविधि निर्वाचन आयोगको आचारसंहिता पालना गरेर भइरहेको देखिएको उल्लेख गर्नुभयो । उहाँले कहीँ कतै उल्लङ्घन भएको मौखिक जानकारी आएकोमा सम्बन्धित दल र उम्मेदवारलाई मौखिक रूपमा सचेत गराएको बताउनुभयो । 

उहाँले विगतमा जस्तो घर घरमा झन्डा टाँग्ने, दलको चुनाव चिह्न अङ्कित टिसर्ट, कपडा प्रयोग गर्ने, द्वेय फैलाउने जस्ता गतिविधिहरू यस पटक नभएको अनुगमनका क्रममा देखिएको बताउनुभयो । उहाँले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नदेखिएको हुँदा आगामी दिनमा पनि आचारसंहिता पालना हुने विश्वास व्यक्त गर्नुभयो । साथै पत्रकारलाई पनि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै उहाँले यदि सञ्चार माध्यममा विज्ञापन प्रकाशित गर्दा स्पष्ट खुलाएर आयोगसँग समन्वय गर्न सुझाव दिनुभयो । सबै दल र उम्मेदवारलाई समान स्थान दिनुपर्ने भन्दै संयोजक कार्कीले कसैको पनि पक्ष र विपक्षमा खुलेर नलाग्ने आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनका बेला पत्रकार बढी जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले निर्वाचनको समयमा पत्रकारलाई समाचार सङ्कलन गर्ने वातावरण सरल र सहज बनाइदिनुपर्ने भन्दै विगतमा दुःख दिने गरिएको स्मरण गर्नुभयो ।