• १२ असोज २०८१, शनिबार

नाका खुलाउन छलफल

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ३ गते । नेपाल भारत सीमामा पर्ने झापाको गौरीगञ्ज नाकालाई सहज बनाउँदै दुई देशको व्यापार वृद्धि गर्ने विषयमा नेपाल र भारतका भन्सार अधिकारीबीच सहमति बनेको छ । दुवै देशका भन्सार अधिकारीको संयुक्त सर्वेक्षणपछि यस्तो सहमति भएको हो । नेपाल–भारत व्यापार सन्धि र पारवहन सन्धिको परिमार्जनको फ्लोअप कार्यको आइतबार झापाको गौरीगञ्जमा भएको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो । 

छोटी भन्सारका रूपमा रहेको गौरीगञ्ज नाकालाई स्तरोन्नति गर्ने विषय बारम्बार उठ्दै आएको छ । अनुगमनमा भारतीय भन्सार अधिकारी सहायक आयुक्त ज्ञानसिंह तिग्गा र मेची भन्सार कार्यालय काँकडभिट्टा मेचीका प्रमुख केशवराज ओलीको नेतृत्वमा संयुक्त सर्वेक्षण भएर दुई देशका भन्सार प्रतिनिधिले सहमतिमा हस्ताक्षर गर्नुभएको जनाइएको छ । 

ब्यापार र पारवहनका लागि भारतको फत्तेपुरदेखि नेपालको गौरीगञ्जसम्म उपलब्ध सडक र अन्य पूर्वाधारको पूर्ण सुविधा उपयोग गर्ने उक्त निर्णयमा उल्लेख छ । “दुवै पक्षले भारतको फत्तेपुरदेखि नेपालको गौरीगञ्जसम्मको स्थलमार्गबाट ​​व्यापार सुरु गर्न सहमति जनाएका छौँ,” उक्त निर्णयमा भनिएको छ ।