• ३ चैत २०८२, मङ्गलबार

नियामक प्रमुखलाई अर्थमन्त्रीको धन्यवाद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आर्थिक स्थायित्व कायम गर्न नियामक निकायले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । अर्थमन्त्रीको जिम्मेवारीबाट बिदाइ हुनै लागेका खनालले विभिन्न नियामकीय निकायका प्रमुखसँग सोमबार मन्त्रालयमा भेट गर्दै यस्तो उल्लेख गर्नुभएको हो । 

भेटमा उहाँले अर्थमन्त्रीका रूपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउन नियामक निकायले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको धारणा व्यक्त गर्नुभयो । नेपालको बैङ्क तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउन अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति उहाँहरूले आभार व्यक्त गर्नुभयो । भेटमा नियामक निकायका तर्फबाट नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता थियो ।