मुसीकोट समाचारदाता
रुकुमपश्चिम, फागुन १० गते । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको करिब ५० स्थानमा रहेको पहिरो हटाइएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्प र वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो करिब अढाई वर्षपछि हटाइएको हो । सडक डिभिजन कार्यालय चौरजहारीले साना तथा ठुला गरेर जिल्लाभित्रका ५० स्थानको पहिलो सफा गरेको जनाएको छ ।
डिभिजन कार्यालयका प्रमुख खुमबहादुर भण्डारीका अनुसार भूकम्पका कारण विभिन्न स्थानमा पहिरो जाँदा तत्कालीन अवस्थामा सडक सुचारु गर्नलाई मात्र पहिरो पन्छाइएको थियो । तत्कालीन अवस्थामा यातायातका साधन सञ्चालनका लागि मात्र बाटो खोलिए पनि वर्षाका कारण थप पहिरो गएर सडक साँघुरो बनेको थिए । डिभिजन कार्यालयले मुसीकोटको साँखदेखि चौरजहारीको भेरी नदीसम्म सडकमा रहेको पहिरो हटाएर आवागमनलाई सहज बनाएको हो । मुसीकोट नगरपालिकाको खेताकुना, सानीभेरीको सिम्ली, गिठाकोट, चाइनाबगर, चौरजहारीको कालाखोलालगायत स्थानमा ठुलो पहिरो थियो भने अन्य स्थानका पनि सडकछेउमा पहिरो बाँकी थियो । सबै स्थानको पहिरो हटाएर फराकिलो पारिएको छ । कार्यालय प्रमुख भण्डारीले सडक विभागकै जनशक्ति र उपकरण प्रयोग गरेर सडक मर्मत तथा सफा गरेको जनाउनुभयो ।