सन्तोष दहित
दाङ, फागुन १० गते । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडास्थित गंगटे जलाशयको सौन्दर्य र पर्यटन सम्भावनाले घोराहीको रूप फेरिँदै गएको छ । त्यही जलाशय छेउमा सञ्चालनमा रहेको ‘ग्रीन फोरेष्ट रिर्साेट’ बाट व्यवसायी बेदबहादुर वलीले मासिक करिब दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । सुरुमा माछापालनको उद्देश्यले लिएको जलाशयमा लगानी अनुसारको नाफा नआएपछि उहाँको पर्यटन व्यवसायतर्फ मोडिएको कथा अहिले सफलता पाउन थालेकोे छ ।
तीन वर्षअघि घोराही–१६ बाहुनडाडाँकै स्थानीय वलीले गाउँकै कृत्रिम गंगटे जलाशयको छेउमा ‘ग्रीन फोरेष्ट रिर्साेट’ सञ्चालनमा ल्याएपछि अहिले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सफल हुनुभएको हो । घोराही उपमहानगरपालिकाले निर्माण गरेको उक्त कृत्रिम जलाशय उहाँले २० वर्षका लागि वार्षिक दुई लाख १० हजार रुपैयाँमा टेण्डरमार्फत लिजमा लिनुभएको हो ।
वलीले प्रारम्भमा करिब पाँच लाख माछाका भुरा र दानामा करिब १५ लाख रुपियाँ लगानी गरेर माछापालन सुरु गर्नुभयो । तर, ३५ फिटभन्दा बढी गहिरो जलाशयका कारण माछा राम्रोसँग फस्टाउन नसक्दा झण्डै १२ लाख रुपैयाँ घाटा बेहोर्नु परेको उहाँले सुनाउनुभयो । “माछाबाट लगानी उठ्ने सम्भावना नदेखेपछि रिर्साेट खोल्ने निर्णय गरेँ,” वली भन्नुभयो “अब भने घाटा छैन, म पाँच जनालाई रोजगार पनि दिएको छु ।”
करिब दुई विघा क्षेत्रफलमा फैलिएको रिर्साेटमा खाना, बस्न र सेमिनार–गोष्ठीसम्मको सुविधा उपलब्ध छ । यहाँको आकर्षण भनेको लोकल भाले र माछाको परिकार हो, वलीले भन्नुभयो, “स्थानीय रूपमा लोकल भाले नपाएर रोल्पाबाट मगाउनुपर्छ । लोकल भालेकै खपत सबैभन्दा बढी छ ।”
सुरुमा जडीबुटी व्यवसाय गर्दै आएका वलीले घर नजिकैको सुन्दर जलाशय देखेपछि नयाँ सम्भावना खोज्ने निश्चय गर्नुभएो रहेछ । “परिवारले स्वदेशमै केही गर्न सुझाएपछि विदेश जाने योजना रद्द गरेँ,” उहाँले स्मरण गर्दै भन्नुभयो, “अब यही आम्दानीबाट सन्तुष्ट छु, साथीहरूले पनि राम्रो काम गरेको भन्दै हौसला दिन्छन्, खुशी लाग्छ ।”
घोराहीको बसपार्कबाट करिब तीन किलोमिटर टाढा पश्चिम तर्फ रहेो सामुदायिक वन र बाहुनडाँडाको बिचमा अवस्थित रिर्साेटको वातावरण एकान्त र रमणीय छ । यहाँ बोटिङको सुविधा पनि उपलब्ध छ । आधा घण्टाको बोटिङ शुल्क प्रति व्यक्ति १०० रुपियाँ तोकिएको वलीले जानकारी दिनुभयो । एक करोड १० लाख रुपियाँ लगानीमा बनेको ग्रीन फोरेष्ट रिर्साेटले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा पनि धेरैलाई रोजगारी सिर्जना भएको वलीको भनाइ छ ।
गाउँमा उत्पादन हुने तरकारी, लोकल भाले, फलफूलजस्ता वस्तुहरू पनि रिर्साेटमार्फत बजारमा पुग्ने भएकाले स्थानीयलाई आर्थिक फाइदा पुगेको छ । यस्तै माछाबाट बर्सेनी ५०–६० हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । रिसोर्ट र बोटिङ सञ्चालनमा आएपनि अहिले गंगटे ताल घोराहीका पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।