अमरराज नहर्की
तनहुँ, फागुन १० गते । तनहुँमा जेनजी आन्दोलन तथा जनयुद्धका क्रममा घाइते भएका पाँच जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पत्रकार तथा सवितुर खबर अनलाइनका सम्पादक–प्रकाशक आसबहादुर घिमिरेसहित प्रहरी निरीक्षक शिवप्रसाद पाठक, प्रहरी सहायक हवल्दार हरि श्रेष्ठ र धनिराम महतो तथा प्रहरी जवान हरिप्रसाद वस्ती रहनुभएको छ ।
घिमिरे विसं २०५८ सालको जनयुद्धका क्रममा घाइते हुनुभएको थियो । उहाँ शिक्षक सेवाबाट निवृत्त भइसक्नुभएको छ र हाल पत्रकारितामा सक्रिय हुनुहुन्छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अन्य चार जना प्रहरी कर्मचारी घाइते भएका थिए । प्रजातन्त्र दिवस–२०८२ विभिन्न कार्यक्रम गरी मनाउने क्रममा शुक्रबार सम्मान गरिएको हो ।
उहाँहरूलाई प्रजातन्त्र दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी तथा प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा घाइतेहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको साहस र समर्पणको प्रशंसा गरिएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख वाग्लेले आन्दोलनका क्रममा घाइते भएकाहरूको योगदानलाई सम्मान गर्दै जिल्लामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तिवारीले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै यस वर्ष भीडभाड नगरी औपचारिक रूपमा प्रजातन्त्र दिवस मनाइएको जानकारी दिनुभयो ।
जिल्लामा फागुन ६, ७ र ८ गते तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाइएको थियो । यस क्रममा प्रदेश अस्पताल दमौलीका बिरामीलाई फलफूल वितरण, शहीदका शालिकमा माल्यार्पण, दमौली बजार क्षेत्रमा सरसफाइ तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।