फागुन २१ गते प्रतिनिधि सभाका लागि निर्वाचन हुँदै छ । मुलुक निर्वाचनको महोत्सवमा होमिएको छ । यो निर्वाचन विगतका भन्दा चुनौतीपूर्ण छ । किनकि जेनजी विद्रोहकै कारण निर्वाचन निम्तिएकाले पनि यसले राजनीतिक अर्थ राख्छ । सबै उम्मेदवार आआफ्ना पक्षमा मतदाता तान्न घरदैलो अभियानमा व्यस्त छन् । प्रमुख पार्टीका शीर्ष नेता उत्साहित भएर ठाउँ ठाउँमा आफ्ना सदस्यसहित जुलुस र प्रचारप्रसारमा लागिरहेका छन् । विशेषत नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, जनमत पार्टी, उज्यालो पार्टी र अन्य दल निर्वाचनमा विजयका लागि शक्ति प्रदर्शनमा हरतरहले प्रयासरत छन् । मतदान अमूल्य हक भएकाले आफ्नो मताधिकार प्रयोग गर्दा विवेक पु¥याउन आममतदाता सक्षम छन् । सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारी कर्मचारी पनि आवश्यक तयारीका लागि युद्धस्तरमा जुटेका छन् ।
जनचाहना
नेतृत्वबिना राज्य चल्दैन यस कारण निर्वाचनको आवश्यकता हुन्छ । जनताले विगत लामो समयदेखि देशमा भ्रष्टाचार बढ्नु, सुशासन पारदर्शिता नहुनु, देशभित्र रोजगारी नपाउनु, युवा विदेश पलायन बढ्दो हुनु, स्तरीय गुणस्तरको शिक्षा नपाउनु र राजनीतिक नेतृत्व पुरानै नेताको हातमा सधैँभर रहनु जस्ता कारणले भदौ २३ र २४मा जेनजी विद्रोह भयो । यो कसैको प्रभाव र दबाबमा नभई सुशासन कायम हुन नसक्दाको परिणाम थियो । देशमा पटक पटक जनआन्दोलन भए पनि नेपालको राजनीतिक इतिहासमा उही पुरानै सोच, शैली र स्वार्थको हाबी भइरह्यो । अब जनताले नयाँ राजनीतिक सोच, विकास र संस्कार खोजिरहेका छन् । योग्य र सक्षम जनप्रतिनिधि चयनले मात्र सुशासन स्थापित भई राष्ट्रहित हुने छ । आजको चुनौती भनेको केवल चुनाव जिताई उम्मेदवार चुन्ने मात्र होइन जनताको आकाङ्क्षामै रूपान्तर गर्नु हो । फागुन २१ को निर्वाचन सफल बनाउन सबै सरोकारवाला निकाय लाग्नु पर्छ ।
नागरिकले युवा पुस्तालाई राजनीतिको शीर्ष स्थानमा देख्न र हेर्न चाहेको छ । जो भोलिका भविष्य र परिवर्तनका संवाहक पनि हुन् । समयको मागलाई मनन र आत्मसात् गर्दै चुनावमार्फत नेतृत्व पुस्तान्तरण गर्न सक्नु पर्छ । जुनसुकै विचार, सिद्धान्त र पार्टीका नाममा विजय भए पनि नेपालको राष्ट्रियता र सार्वभौमसत्तालाई समृद्धि गराउनु जरुरी छ ।
मतदाता जागरण
लोकतान्त्रिक प्रणाली अन्तर्गतको शासनमा निर्वाचनको जति महत्व छ त्यति नै निर्वाचन सार्थक बनाउन मतदाता जागरण हुनु त्यति नै आवश्यक छ । मतदाता जागरणले निर्वाचनमा मतदाताको सहभागिता बढाउँछ । त्यसैले पनि स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित सौहार्द वातावरणमा निर्वाचन सम्पन्न हुनु पर्छ । यसका लागि मतदाता शिक्षा पनि एक मुख्य विषय हो । यसले निर्धक्क भएर आफूले चाहेको वा रोजेको उम्मेदवारलाई मतदान गर्न सजिलो हुने छ । यसले मतदातामा निर्वाचनप्रति अपनत्व पनि बढाउँछ । मत बदरको न्यूनीकरण भई निर्वाचनप्रति उत्साह थपिन्छ । जति बढी मतदान हुन सक्यो लोकतन्त्र त्यति बढी सुदृढ हुने छ ।
अशक्त, बिरामी, दृष्टिविहीन र अपाङ्गतालाई पनि मतदान गर्न सजिलो तरिकाले मतदानको व्यवस्था हुनु पर्छ । यस पटकको निर्वाचनमा मताधिकार प्रयोग गर्दा सुझबुझपूर्ण निर्णय लिई सहिदको सपना पूरा गर्ने दिशामा लाग्नु पर्छ । जीवन बलिदान गर्नुभन्दा ठुलो त्याग केही पनि हुन सक्दैन । मतदान गर्नुअघि आममतदाताले यसलाई ख्याल गर्नु पर्छ । कुनै दलको बहकावमा, जोड जबरदस्त, डर धम्की, करकाप, लोभ प्रलोभनबाट पृथक् रही स्वविवेक प्रयोग गरेर मतदान गर्नु पर्छ ।
चुनाव चिह्न
हरेक चुनावमा चिह्नको महत्व हुन्छ । निर्वाचनका लागि दिने मतपत्र ठुला, लामा, भद्दा वा धेरै निर्वाचन चिह्न हुन सक्छ । मतपत्रमा थोरै समयमा छाप हाल्नु भनेको आफैँमा झन्झटिलो जस्तो लाग्न सक्छ । यस कारण समयमै कुन उम्मेदवारको कुन चिह्न हो भन्ने मतदातामा ज्ञान हुनु जरुरी छ । मतदानका लागि बुथमा जाँदा कुन उम्मेदवारको चिह्न कुन हो, थाहा नभएर सही उम्मेदवार छान्नबाट वञ्चित हुन सकिन्छ । यस कारण समयमै मतदातामा उम्मेदवारको चिह्न चिन्नु पर्छ । यसका लागि मतदातामा मतदानसम्बन्धी चुनावी ज्ञान दिनु जरुरी छ । अधिकांश अशिक्षित, दलित तथा पिछडावर्गका मतदाताले मतदान शिक्षाको आवश्यकता महसुस गरेको हुन्छ । चुनाव चिह्नको ज्ञान भनेको प्रचार प्रसारकै महत्वपूर्ण पक्ष हो ।
यसपालिको चुनावमा धेरै उम्मेदवार छन् । राजनीतिक दल पनि धेरै छन् । निर्वाचन आयोगले १०७ राजनीतिक दललाई भिन्न भिन्नै चुनाव चिह्न प्रदान गरेको छ । दललाई पुरानै चिह्न प्रदान गरेको छ भने स्वतन्त्र उम्मेदवारका लागि नयाँ नयाँ चिह्नको व्यवस्था गरिएको छ । मतदाता शिक्षा निर्वाचन आयोगले दिएकै हुन्छ । दल वा उम्मेदवारका कार्यकर्ताले पनि घरदैलो कार्यक्रम गर्दा र अघिपछि पनि मतपत्रमा कुन चिह्नमा कसरी छाप लगाउने, कसरी मतपत्र पट्याउने हो भन्ने अभ्यास गरी प्रशिक्षित गराउनु महत्वपूर्ण हुन्छ । अर्बौं खर्च गरी हुन लागेको निर्वाचनमा कुनै पनि मतपत्र बदर नहोस् भन्ने ख्याल राख्नु सबै पक्षको जिम्मेवारी हो । यो काम निर्वाचन आयोगको मात्र नभई राजनीतिक दल र अन्य उम्मेदवारको पनि हो ।
चुनावको समयमा चुनाव चिह्न पहिचान गर्ने विभिन्न आधार रहेको छ । चुनाव चिह्नलाई शिक्षित र अशिक्षित वर्गले आफ्नै तरिकाले सम्झिन्छ । उमेर अनुसार, महिला र पुरुष वर्गले बुझ्ने आधार फरक फरक हुन्छ । शिक्षितका लागि भने कुन चिह्नमा भोट हाल्ने भन्ने जानकारी रहेको हुन्छ । ग्रामीण भेगका जनताले शिक्षित भए पनि उम्मेदवारको चिह्न राम्ररी नबुझेको पनि हुन सक्छ । उमेरको हिसाबले युवा वर्ग शिक्षित भएका कारणले कुनै कुनै दलमा संलग्न भएका हुन सक्छन् । बुढाबुढीलाई उम्मेदवारको मत चिह्नबारे बुझाउनै पर्छ ।
विशेषतः अशिक्षित वर्गलाई फलानो पार्टीको चिह्न यो हो, फलाना उम्मेदवारको चिह्न यो हो भनी मतपत्रमा चिह्न लगाउन सिकाउनु जरुरी छ । मतदाता शिक्षा दिनेहरूले स्वस्तिक चिह्नलाई ठिक ठाउँको कोठाभित्र लगाउने नमुना पनि सिकाइ दिनु पर्छ । जो मतदाताले उम्मेदवारको सरोकार राख्दैन त्यस्ता उम्मेदवारको चुनाव चिह्न थाहा नपाउन सक्छ । धेरैजसो नपढेका मतदाताले जुन अगाडि चिह्न छ, त्यसैमा हतारोमा छाप हान्ने गरेको पाइन्छ । धेरैजसो महिला वर्ग अशिक्षित हुने हुँदा महिलालाई बढी मतदाता शिक्षामा चुनाव चिह्नबारे जानकारी दिनु पर्छ । उनीहरूलाई मतपत्रमा यसरी हाल्ने भनेर हात समाई अभ्यास गराएमा मत धेरै बदर हुन पाउँदैन । यसरी मतदातालाई मतदान शिक्षा दिएमा आफ्नो मतबाट योग्य उम्मेदवार छान्ने सुअवसर पाउने छन् । योग्य, इमानदार, सक्षम र सही प्रतिनिधिको विजयीले देशमा शासकीय नेतृत्व पाई सुशासन कायम हुने छ । मतदाताको सचेतनाले नै सही उम्मेदवार निर्वाचित भई देशको भविष्य उज्ज्वल हुने छ ।