अर्जुन काफ्ले
स्याङ्जा, फागुन १० गते । भीरकोट नगरपालिका–७ मा आगालागीबाट क्षति पुगेको परिवारलाई सहयोग गरिएको छ । स्थानीय सिं बहादुर रोकाको घर पूर्ण रूपमा जलेर नष्ट हुदा घर, गोठ, कुखुरा, गरगहना, खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको थियो भने १६ लाख रुपियाँ बराबरको क्षति भएको थियो ।
पीडित परिवारलाई आपत्कालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले विभिन्न संघसंस्थाले राहत सामग्री तथा नगद उपलब्ध गराएका हुन् ।
यहाँ बालोदय माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी र स्थानीय समुदायबाट ५५ हजार १२५ रुपियाँ सङ्कलन गरेर पीडितलाई हस्तान्तरण गरेको हो ।
यस्तै, भीरकोट जेसिजले सिरक, डसना तथा न्यानो कपडाहरू प्रदान गरेको हो । यस्तै नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न र बन्दोबस्तीका सामान उपलब्ध गराएर आपत्कालीन सहयोग पुर्याएको हो भने लायन्स क्लब अफ भीरकोटले सात फुटे १५ पाता रङ्गिन टिन (जस्तापाता) प्रदान गरेको हो ।
आगलागीबाट सबै जलेर नष्ट भएको रोका परिवारलाई विभिन्न संघसंस्था र स्थानीयवासीले स्वतःस्फूर्त रूपमा सहयोग गर्दै पुनर्निर्माणमा साथ दिएका हुन् । ठुलो क्षति व्यहोर्दा समेत हालसम्म स्थानीय सरकारको तर्फबाट भने कुनै पनि राहत वा सहयोग उपलब्ध नभएको रोकाको गुनासो थियो ।