• १० फागुन २०८२, आइतबार

कर्जा स्थानान्तरणको जोखिम

blog

बैङ्क तथा वित्तीय संस्थाबाट व्यक्ति तथा सङ्घ संस्थाले आफूलाई आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापन गर्छन् । जसलाई कर्जाको नामकरण गरिन्छ । ऋणीहरूले सम्पर्क, स्थान, सहजता, आवश्यकता, सेवा सुविधालगायतका विषयका आधारमा विभिन्न वित्तीय संस्थाबाट कर्जाको प्रयोग गर्छन् । कतिपय वित्तीय ज्ञानको अभावमा पनि महँगो ब्याजदरमा कर्जा लिने र पर्याप्त जानकारी भएपश्चात् सस्तो सेवा सुविधा भएका स्थानबाट उक्त सुविधालाई स्थानान्तरण गर्ने गरेको पाइन्छ । स्वाप एउटा वित्तीय संस्थामा रहेको कर्जालाई अर्को वित्तीय संस्थामा सार्ने तथा स्थानान्तरण गर्ने कामलाई लोन स्वाप भन्ने गरिन्छ । यसरी एउटा वित्तीय संस्थाबाट अर्को वित्तीय संस्थामा कर्जा सार्ने प्रचलन पुरानै भए पनि पछिल्लो समय यसको प्रचलन बढ्दै गएको छ । वित्तीय संस्थामा निक्षेप बढ्दै जानु र कर्जाको माग कम हुनुले तरलता विस्तार भइरहेको छ । बढ्दो तरलताले वित्तीय संस्थाको कोषको लागत बढेको र कर्जा लगानी कम भएकाले नाफामा कमी आउनु स्वाभाविक भयो । यस्तो वातावरणमा वित्तीय संस्थामा रहेका ऋणीलाई जहाँ सुविधा पाइन्छ त्यतातिर लाग्ने अवसर प्राप्त हुन्छ । ऋणीहरू असल हुन् वा खराब एक संस्थाबाट अर्को संस्थातिर सार्ने क्रम बढिरहेको छ । 

विगत करिब २० वर्षयताका अवधिमा सबैभन्दा कम ब्याजदर रहेको अहिलेको वर्तमान अवस्था हो । यति कम ब्याजदर भइरहँदा पनि लगानी वृद्धि एकल अङ्गमा सीमित हुन पुग्नु भनेको बजारमा लगानीको अनुकूल वातावरण रहेको छैन भनेर बुझ्न सकिन्छ । लगानीकर्तामा ढुक्कले लगानी गर्ने आत्मविश्वासको कमी छ । लगानीका क्षेत्र पर्याप्त नदेखिनु, बजार अस्थिर रहनुलगायतका पक्ष छन् । भइरहेका लगानीका क्षेत्रबाट पनि राम्रो प्रतिफल प्राप्त नहुनु, अस्थिर राजनीतिक परिस्थितिले कुनै पनि क्षेत्र स्थिर हुन नसक्नु र लगानी बढ्न नसकेको अवस्थामा कर्जा एक स्थानबाट अर्को स्थानमा सार्नुका विभिन्न कारण हुन सक्छन् । 

नियामक निकाय नेपाल राष्ट्र बैङ्कको गाइडलाइन मार्फत बैङ्कको कर्जा स्वाप गर्न विभिन्न सर्त रहनुपर्ने उल्लेख गरेको छ । जहाँ कर्जा स्वाप हुन कर्जा भइरहेको संस्थामा असल वर्गमा रहेको हुनुपर्ने, ‘विलफुल डिफल्टर’ हुनु हुँदैन, कर्जा भइरहेको संस्थाबाट ‘नो अब्जेक्सन’ लिनुपर्ने, एउटै प्रयोजनका लागि दोहोरो कर्जा निषेध, ब्याज अवधि, सर्त आफ्नै राख्नु पाउने ‘इभरग्रिनिङ’ निषेध भनेको छ । नेपाल राष्ट्र बैङ्कको गाइडलाइनमा स्वाप भन्ने शब्द प्रयोग नभएर यसलाई लोन ‘टेकओभर,’ ‘रिफाइनान्सिङ,’ 

‘क्रेडिट ट्रान्सफर’ का रूपमा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैङ्कको निर्देशनलाई पालना गर्दै कर्जा टेकओभर यस्तो अवस्थामा गर्ने गरिन्छ :

ब्याज खर्च घटाउन : कर्जा भइरहेको वित्तीय संस्थामा भन्दा अन्य वित्तीय संस्थामा कर्जाको ब्याजदर कम छ भने ब्याज खर्च घटाउन कर्जा भइरहेको संस्थाबाट ब्याज खर्च घटाउन स्वाप गर्ने गरिन्छ । विशेष गरी कर्पोरेट कर्जामा सानो प्रतिशतले पनि दीर्घकालसम्म ठुलो प्रभाव पार्ने हुँदा ब्याजदरलाई हेरेर कर्जा ट्रान्सफर गर्ने गरिन्छ ।

नगद प्रवाहलाई सहज बनाउन : कतिपय वित्तीय संस्थामा रहेको किस्ता, ब्याज तथा अन्य शुल्क कर्जा भइरहेको संस्थामा भन्दा सरल, सहज र सस्तो हुन सक्छ । यस्तो अवस्थामा भुक्तानी गर्नुपर्ने नगद प्रवाहलाई सहज तरिकाबाट परिचालन गर्न सकिने हुँदा पनि लोन टेकओभरका काम हुन सक्छन् ।

ऋण अवधि बढाउन : कर्जाको लिमिट तथा ब्यालेन्स रकम छोटो, मध्यम र लामो अवधि गरी छुट्याइएको हुन्छ । एउटै लिमिटमा छोटो अवधिको भुक्तानी रकम बढी हुने र लामो अवधिको भुक्तानी रकम कम हुने हुँदा ऋण अवधि बढाउँदा कर्जा भुक्तानी गर्न सहज हुने हुँदा यस्तो अवधि बढाउन पनि कर्जा स्थानान्तरण गरिन्छ

वित्तीय संस्था परिवर्तन : वित्तीय संस्थाको वर्ग, संरचना, व्यवहार, क्षेत्रलगायतका विषयले पनि वित्तीय सेवामा प्रभाव पारिरहेको हुन्छ । यसर्थ आफूलाई कुनै समयमा ठिक लागेको संस्था समयको अन्तरालमा बेठिक लाग्न पनि सक्छ । यस कारणले पनि कहिलेकाहीँ वित्तीय संस्थामा कर्जा स्थानान्तरण गर्ने गरेको देखिन्छ ।

जोखिम व्यवस्थापन गर्न : वित्तीय संस्था जोखिमको व्यापार गर्ने संस्था हुन् । जोखिम न्यूनीकरण गर्ने हो, हटाउन सकिँदैन यस्तो व्यवस्थापन भन्दै गर्दा जोखिम वित्तीय संस्थालाई मात्रै होइन ती संस्थासँग जोडिने पक्ष निक्षेपकर्ता र कर्जाका ऋणीहरूसँग पनि जोडिएका हुन्छन् । कतिपय अवस्थामा ग्राहकको तर्फबाट जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लोन स्थानान्तरण गर्ने काम हुन्छ भने कतिपय अवस्थामा वित्तीय संस्थाले नै आफ्नो जोखिम कम गर्न ऋणीलाई अन्यत्र जान सुझाउने गरेको पाइन्छ । अहिले ऋणदाताको तर्फबाट त कहिले ऋणीहरूको तर्फबाट जोखिम व्यवस्थापन गर्ने काम भइरहेको हुन्छ । यस्तो काम भनेको जोखिम व्यवस्थापन नै हो । 

एउटा वित्तीय संस्थामा रहेको कर्जालाई अर्को वित्तीय संस्थामा सार्न तथा स्थानान्तरण गर्न सकिने व्यवस्था नियामक निकायको निर्देशनमा उल्लेख छ । नियामक निकायको निर्देशन पालना गर्नुपर्ने वित्तीय संस्थाको कर्तव्य हुन्छ । नियामकका निर्देशन पालनाले वित्तीय संस्था तथा क्षेत्रमा सुशासनको प्रत्याभूति गराउँछ । वित्तीय प्रणालीभित्रको एउटा पक्ष बैङ्क तथा वित्तीय संस्थामा कर्जा स्थानान्तरणको काम भिन्न अवस्था र भिन्न किसिमबाट सञ्चालन हुने गरेको पाइन्छ । जब जब वित्तीय प्रणालीमा तरलताको अधिकता तथा सङ्कुचन हुन्छ स्थानान्तरणले अझ बढी स्थान पाएको हो कि भन्ने लाग्छ । जब बजारमा तरलताको अभाव हुन्छ वा तरलता बढी हुन्छ तब वित्तीय संस्थाले अर्को संस्थामा रहेका असल ऋणीलाई आफ्नोमा तान्ने गर्छन् विभिन्न निहुँमा ब्याजदर, धितो, सेवा शुल्क, समयावधि, क्षणिक समयका लागि तलमाथि गर्ने र सार्ने काम नौलो होइन । यसै गरी अधिक तरलता भएको अवस्थामा कर्जा बढाउने तथा सिडी रेसियो माथि लाने निहुँमा माथि उल्लिखित सर्तलाई आधार मान्दै आफूतिर तान्ने गरेको देखिन्छ । कतिपय वित्तीय संस्थाले आधार दरभन्दा कम ब्याजदरमा समेत लगानी गर्ने गरेका छन् । कतिले आधार दरमा नै लगानी गरेका छन् भने कतिले आधार दरमा न्यूनतम प्रिमियम दर जोडेर ब्याजदर कायम गरी लगानी गर्ने गरेको देखिन्छ ।

पछिल्लो केही समययता अर्थतन्त्रमा अधिक तरलता रहिरहेको छ । लगानीका अवसरको कमीका कारण लगानी वृद्धि भइरहेको छैन । रेमिट्यान्सको बढ्दो प्रवाहका कारण नयाँ व्यवसायको सम्भावना नदेखिरहेको अवस्था र भइरहेको व्यवसायले पनि निश्चित गति लिन सक्ने अवस्था नभएकाले वित्तीय संस्थामा तरलता बढ्दो छ । २०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि अर्थतन्त्र अझै सुस्ताएको अवस्थासँगै तरल राजनीतिक परिवेशका कारण कर्जा उपभोग गरिरहेका ऋणी समयमा किस्ता, ब्याज तथा शुल्क तिर्न सक्ने अवस्थामा छैनन् । कतिपय ऋणीहरूले हिजोका दिनमा लिएका कर्जा अनुत्पादक क्षेत्रमा लगानी गरेको, व्यापार व्यवसाय सुस्ताएको, युवा विदेश पलायनका कारण नयाँ व्यवसायको सम्भावनाका बाटा देखिन नसकेकाले नियमित गर्न सकिरहेका छैनन् । कतिपय ऋणी विभिन्न किसिमका छुट सुविधा पाउन सकिन्छ कि भन्ने आसमा तिर्न सक्ने क्षमता रहँदारहँदै पनि वित्तीय संस्थाका बक्यौता रहेकाले कर्जा नियमित देखिँदैनन् । नियमित हुन नसकेका, समस्यामा रहेका र वित्तीय तथा व्यावसायिक ज्ञानबिना नै वित्तीय संस्थाबाट कर्जा लिएर कारोबार गर्ने इच्छा भएकालाई विभिन्न स्वार्थमा वित्तीय संस्थाको नेतृत्व लगानी गर्न अगाडि बढ्ने प्रवृत्तिले पछिल्लो समय कर्जा स्वाप गर्ने काम भएको छ । कुनै एउटा वित्तीय संस्थामा समस्यामा रहेको ग्राहकलाई अर्को वित्तीय संस्थामा कर्जा स्थानान्तरण गर्दा कसरी उसलाई सहज हुन्छ, जबकि सेवा र सर्त समान जस्तै रहेका छन् भने त्यसमा विभिन्न थप प्रोडक्ट बनाएर कर्जा थप गरिन्छ । जुन पहिले भइरहेको वित्तीय संस्थाको बक्यौता तिर्नका लागि गरिन्छ भने त्यस्ता ऋणीले कसरी कर्जालाई नियमित गर्न सक्ला एउटा गम्भीर प्रश्न उब्जिएको छ । यति मात्र होइन कर्जामा हरियाली देखाएर अन्य संस्थामा सार्न तथा जान सहज बनाइदिने प्रचलन बढ्न थालेको छ ।

यस्ता कामले कुनै एउटा संस्थालाई जोखिम व्यवस्थापन गर्न क्षणिक निकास त देला तर अर्को वित्तीय संस्था भने जोखिममा पर्छ । क्षणिक समयका लागि सिडी रेसियो बढाउन खराब कर्जा स्वाप गर्नु वित्तीय धर्म मानिँदैन । यस्ता कामले समग्र वित्तीय प्रणालीलाई कस्तो असर पर्छ ? सुशासनको बाटो कस्तो बन्ला ? नियामक मुकदर्शक भएर रहने कहिलेसम्म ? यस्ता गहन प्रश्नको सही जवाफ नआउँदासम्म वित्तीय प्रणली स्वस्थ बन्न सक्दैन । 

अन्त्यमा कर्जा स्वापका वैधानिक सर्तको अवलम्बनबाट मात्रै समग्र वित्तीय प्रणाली स्वस्थ बन्न सक्छ । कर्जा स्वापका नाममा लुपहोलको प्रयोग गर्दै एउटा वित्तीय संस्थाले अर्को वित्तीय संस्थालाई आफ्नो जोखिम ट्रान्सफर गर्ने, आर्थिक प्रलोभनमा लगानी बढाउने, क्षणिक समयका लागि तथ्याङ्कलाई उलट पुलट बनाउने प्रचलनको अन्त्य हुनु पर्छ । वित्तीय प्रणालिलाई स्वस्थ बनाउँदै समग्र अर्थतन्त्रमा सकारात्मक सहयोग गर्न आजका वित्तीय संस्थाको महìवपूर्ण भूमिका अपरिहार्य छ, जुन हिजो हुन सकेन । वित्तीय संस्था नाफामुखी मात्र नभएर अर्थतन्त्रको दरिलो खम्बा भएर उभिनका लागि आर्थिक उपार्जनका क्षेत्र पहिचान गरी विश्लेषण, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्दै अगाडि जानुपर्ने आजको आवश्यकता हो । वित्तीय संस्थाले उत्पादन, रोजगारी तथा आयआर्जनका क्षेत्रमा लगानी गरी आर्थिक वृद्धि हासिल गर्ने बाटोतर्फ आफ्ना लगानी केन्द्रित गर्न जरुरी छ । कर्जाको स्थानान्तरणले वित्तीय प्रणालीमा खासै सकारात्मक प्रभाव पारेको हुँदैन, सकारात्मक प्रभाव त थप र गुणस्तरयुक्त लगानीले पार्ने हो । तसर्थ यस किसिमको बाटोतर्फ बैङ्क तथा वित्तीय संस्था लाग्न ढिला भइसकेको छ ।