• ९ फागुन २०८२, शनिबार

गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरका मतदान स्थलको अनुगमन

blog

निर्वाचनको तयारी र सुरक्षाको विषयमा जानकारी लिनुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल।

काठमाडौँ, फागुन  गतेगृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने  प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ।

शनिबार काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको उल्लेख गर्नुभयो।

सरकारको प्रवक्ता समेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गर्नुभयो।

निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख (एसएसपी)  रमेश थापा लगायत उच्च पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो। 

मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङ स्थित सेतीदेवी माविको  मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको हो।

साथै, गृहमन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन र निर्देशनसहित जिल्लाको समग्र सुरक्षा व्यवस्थापनको जानकारी लिनुभएको थियो।  

यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको अनुगमन गर्नुभएको छ। सो क्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षा सम्बन्धी विषयमा छलफल भएको थियो।

त्यसैगरी मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवर नगरपालिकाको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो। 

काठमाडौँ र मकवानपुर जिल्लाका जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको थियो। दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुकासाथै सुरक्षा व्यवस्थापन र परिचालन सम्बन्धी आवश्यक निर्देशन दिनुभयो।