विष्णुप्रसाद पोखरेल
दमक, फागुन ९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचन भाँड्न विभिन्न शक्तिबाट कसरत भइरहेको बताउनुभएको छ । फरक विचार राख्ने राजनीतिक दलको झण्डा जलाउने र नेतृत्वमाथि आचारसंहिता विपरीत भ्रम फैलाउने कार्य निर्वाचन बिथोल्ने षडयन्त्र भएको उहाँले टिप्पणी गर्नुभयो ।
शनिबार गृहजिल्ला झापा आइपुग्नुभएका अध्यक्ष ओलीले निर्वाचन जित्न नसक्ने र कमजोर देखिन थालेपछि आफूलाई नयाँ बताउने दलले चुनाव भाँड्न खोजेको आरोप लगाउनुभयो । उहाँको सङ्केत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित थियो । “अरूको झण्डा जलाउने कार्य स्वीकार्य विषय होइन,” ओलीले भन्नुभयो ।
निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले यसमा निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताउनुभयो । “अहिले आचारसंहिताको पालना भएको छैन र पालना गराउन निर्वाचन आयोग पनि लागेको देखिँदैन,” उहाँको भनाइ थियो । बलजफ्ती रूपमा आफैँले जित्नुपर्ने र नजित्ने अवस्था आए चुनाव भाँड्ने कार्य लोकतन्त्रका लागि घातक हुने उहाँले उल्लेख गर्नुभयो ।
निर्वाचन स्वच्छ, स्वस्थ र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यम हुनुपर्ने भन्दै ओलीले मतदानदेखि मतगणना र परिणाम घोषणासम्मका सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक प्रणालीको विश्वसनीयता जोगाउन निर्वाचन प्रक्रिया स्वच्छ र विश्वासिलो हुनु अपरिहार्य रहेको उहाँको धारणा थियो ।