• ९ फागुन २०८२, शनिबार

निर्वाचन बिथोल्ने र चन्दा असुली गर्नेप्रति कडा हुन प्रधानमन्त्रीको निर्देशन

blog

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की।

बुटवल, फागुन ९ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री कार्कीले शनिबार बुटवलमा लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीसँग विस्तृत छलफल गर्नुभएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र खत्रीसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा अधिकारीको सहभागिता थियो। प्रमुख सचिव काप्री र पृतनापति विष्टले प्रदेशका २६ वटै निर्वाचन क्षेत्रको सुरक्षा योजना र निर्वाचन तयारीबारे प्रस्तुतीकरण दिनुभएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो। उहाँले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वको पहिचान गरी सुरक्षामा पूर्ण ध्यान दिन आग्रह गर्नुभयो।

जनतामा जान नसक्ने केही समूहले अस्तित्व देखाउन निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “बहिष्कार पनि अहिले सजिलो व्यवसायजस्तो भएको छ । जनतालाई आतङ्कित बनाउने र चन्दाका नाममा रकम असुली गर्ने प्रवृत्तिलाई समयमै निरुत्साहित गर्नुपर्छ।” उहाँले राजनीति गर्ने भए जनतासँग मत माग्न जानुपर्ने र लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निर्वाचनको वातावरण तयार गरेकोमा सुरक्षा अधिकारीहरूलाई धन्यवाद दिँदै सम्भावित झडपप्रति पनि चनाखो हुन निर्देशन दिनुभयो। “अहिले सबै संयमित भएर देशलाई निकास दिने गरी निर्वाचन सफल बनाउन लाग्नुपर्ने समय हो,” उहाँले थप्नुभयो।

प्रधानमन्त्री नेतृत्वको टोलीले शनिबारै बुद्ध जन्मस्थल लुम्बिनीको दर्शनसमेत गरेको छ। टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। यसअघि उहाँले कोसी र गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी निर्वाचन तयारीको निरीक्षण गरिसक्नुभएको छ।