• ९ फागुन २०८२, शनिबार

‘गगन थापासँग कसैको तुलना हुन सक्दैन, बाटोको भिड र मतपत्रको छाप फरक हुन्छ’

सुधारिएको कांग्रेसले मात्रै देश बदल्छ : प्रवक्ता देवराज चालिसे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे।

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन ९ गते । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । फागुन २१ को निर्वाचन ‘देश बचाउने वा सकाउने’ भन्ने बिचको जनमत सङ्ग्रह भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रूपन्देही क्षेत्र नं. २ को बुटवलमा आयोजित ‘बुद्धिजीवीसँग नेपाली कांग्रेस’ अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता चालिसेले भन्नुभयो, “अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथ जोगाउनुपर्ने चुनौती छ । देशको भविष्य कांग्रेससँग जोडिएकाले मतदाताले यस पटक गम्भीर भएर रुख चिह्नमा मतदान गर्नुपर्छ ।” कांग्रेस जिम्मेवार लोकतान्त्रिक दल भएकाले ‘जेन-जी’ सहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उहाँको भनाइ थियो ।

सुधारिएको कांग्रेसले देशको अवस्था बदल्ने दाबी गर्दै उहाँले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ ले सिर्जना गरेको भ्रममा नपर्न आग्रह गर्नुभयो । “अहिले चलेको हावाको कुनै भविष्य छैन,” उहाँले भन्नुभयो, “शरीरभरि दाग र मुद्दा बोकेका मान्छेले सुशासनका कुरा गर्नुको अर्थ छैन । बाटोमा देखिने भिड, सामाजिक सञ्जालको आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ ।”

प्रवक्ता चालिसेले कांग्रेसले स्पष्ट दृष्टिकोणसहित सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधार्ने योजना अघि सारेको बताउनुभयो । उहाँले गगन थापासँग अरू कसैको तुलना हुन नसक्ने भन्दै नयाँ भनिएका दलहरूले जनतालाई ठग्ने बाहेक केही नगरेको आरोप लगाउनुभयो । कार्यसम्पादनमा कमजोर नतिजा ल्याएका व्यक्तिहरूलाई देशको नेतृत्व सुम्पिए देश नै समाप्त हुने उहाँको दाबी थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, रामबहादुर कार्की, नेविसङ्घ अध्यक्ष दुजाङ शेर्पा, रूपन्देही क्षेत्र नं.२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललगायतले सम्बोधन गर्नुभयो ।