• ७ फागुन २०८२, बिहिबार

जाजरकोटमा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

blog

मतपत्र आएपछि कडा सुरक्षा विच व्यवस्थापन गरिँदै । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, फागुन ७ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा मतपत्र आइपुगेको छ। जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार प्रत्यक्षतर्फ एक लाख १५ हजार र समानुपातिकतर्फ एक लाख १८ हजार मतपत्र जिल्लामा प्राप्त भएको हो।

जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले निर्वाचनका लागि आवश्यक मतपत्र सुरक्षित रूपमा ल्याएर व्यवस्थापन गरिएको जानकारी दिनुभयो । जिल्लामा कुल एक लाख सात हजार ९३ मतदाता रहेका छन्। मतदाताको सङ्ख्यालाई आधार मानी आवश्यकताभन्दा केही बढी मतपत्र पठाइएको बताइएको छ।

जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि ११ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सम्पूर्ण तयारी तीव्र पारिएको कार्यालयले जनाएको छ।

फागुन २१ गते हुने मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन, कर्मचारी खटाउने तथा सुरक्षा प्रबन्धका कामहरू अन्तिम चरणमा पुगेका छन्। जिल्ला निर्वाचन कार्यालयले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।