वासुदेव शर्मा
जाजरकोट, चैत ५ गते । नेपालका एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको जाजरकोट दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । भूकम्प गएको २९ महिना बितिसक्दा पनि २५० वर्षभन्दा पुरानो ऐतिहासिक दरबार पुनर्निर्माणमा बेवास्ता गरिरहँदा थप जीर्ण बन्दै गएको छ । २०८० कात्तिक १७ गतेको भूकम्पले यहाँका रातो र सेतो दरबार क्षतिग्रस्त भएका थिए तर सरोकारवाला निकायले पुनर्निर्माण अघि नबढाउँदा बर्खाको पानीले थप जीर्ण बन्दै गएको स्थानीय बताउँछन् । सरकारले सेतो दरबारलाई नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पनि राखेको छ । यो दरबार जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा विसं १८५२ मा निर्माण गरिएको इतिहास पाइन्छ । पश्चिमतर्फको रातो दरबार भने विसं १८०० देखि १८११ मा निर्माण गरिएको इतिहास पाइन्छ । सोही दरबारबाट जाजरकोट राज्यको राजकाज चलेको बुढापाका बताउँछन् । हाल भूकम्पका कारण बस्न नमिल्ने ती दरबार बर्खाको पानीले पश्चिम र दक्षिणतर्फको भाग भत्किएको छ ।
नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले जनताद्वारा निर्माण गरिएका दरबार पुनर्निर्माणमा सरकार गम्भीर नहुनु चिन्ताको विषय भएको बताउनुभयो । जाजरकोटी राजाको आदेशमा जनताको श्रमदानबाट निर्माण गरिएका दरबार भूकम्पले ध्वस्त पारेपछि सरकार, पुरातत्व विभागले समयमा निर्माण प्रक्रिया अगाडि नबढाउँदा दरबारछेउ जानसमेत डराउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । उहाँ सरोकारवाला निकायले बेलैमा पुनर्निर्माणको पहल नगरे आगामी बर्खामा दरबार पूर्ण रूपमा भत्कन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा सेतो र रातो दरबार क्षेत्रलाई कर्णाली प्रदेशका ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी सङ्ग्रहालय बनाउने अभियान पनि अलपत्र परेको छ । विसं १९९० माघ २ गतेको महाभूकम्पले पहिलो पटक दरबार क्षतिग्रस्त भएको थियो । पछि त्यसको पुनर्निर्माण पनि गरिएको थियो । यस्तै २०५० सालको भूकम्पले पश्चिमतर्फको नालमा क्षति पु¥याएपछि २०५१ सालमा पुनर्निर्माण गरिएको थियो ।
पाँचतले दरबारलाई भूकम्पले बस्न नमिल्ने बनाएपछि पुनर्निर्माण गर्दा तीनतले बनाइएको थियो । भूकम्पअघि रातो दरबारमा जिल्ला समन्वय समिति र सेतो दरबारमा जिल्ला प्रशासन कार्यालय थिए ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी दरबार पुनर्निर्माण गर्नुभन्दा अघि कस्तो थियो भन्नेबारे कसैलाई जानकारी नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विसं १९९० पछि भक्तपुरका नेवार समुदायका इन्जिनियरलाई ल्याएर पुरानै शैलीमा निर्माण गरिएको भन्ने सुनिएको छ । दरबारमा प्रयोग भएको झ्यालको कला तथा रूपरेखा हेर्दा सुरुकै स्वरूपमा निर्माण गरिएको देखिन्छ । सरकारले संरक्षण तथा हेरविचार नगर्दा मौलिक स्वरूपको अस्तित्व छैन ।”
पटक पटकको भूकम्पले क्षतिग्रस्त दरबार मर्मत गर्दा मौलिकता बिगार्न नहुने अध्यक्ष केसीको भनाइ छ । नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्रविक्रम शाहका अनुसार सेतो दरबारबाट सात जना राजाले राज्य गरेको पाइन्छ । अन्तिम जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०२४ सालमा दरबार नेपाल सरकारलाई ६० हजारमा रुपियाँ बिक्री गरेपछि सरकारी सम्पत्तिका रूपमा परिणत भएको हो । विसं २०१७ देखि राजा बस्न छोडेपछि यहीँबाट सरकारी काम हुन थालेको हो ।