राजु लामिछाने
रुकुमपश्चिम, चैत ५ गते । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि रुकुमबाट जनार्दन शर्मालाई चुनाव जिताउन पटक पटक चुनावी नेतृत्व समाल्दै आउनुभएका गोपाल शर्माले यस पटक भने आफैँले सानदार रूपमा विजयी हासिल गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका शर्मा चार पटक मन्त्री भइसक्नुभएका जनार्दनलाई पराजित गर्नुभयो । जनार्दन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।
गोपाल शर्माले २१ हजार ६०९ ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत ल्याएर दोस्रो हुनुभयो भने १४ हजार ३४६ मत प्राप्त गरेर जनार्दन शर्मा तेस्रो स्थानमा पुग्नुभयो ।
रुकुममा कम्युनिस्ट विरासत जोगाउने र जिल्लाको समृद्धिलाई उचाइमा पु¥याउने मुख्य एजेन्डासहित निर्वाचनमा होमिनुभएका गोपाल शर्माको सङ्घीय संसद्मा यो पहिलो प्रवेश हो । यसअघि उहाँ २०७४ सालमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सोही कार्यकालमा उहाँ २०७८ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बन्नुभएको थियो ।
प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि शर्माले अबका पाँच वर्ष जनताको हित र विकासका लागि समर्पित हुने बताउनुभयो । उहाँले सबै दल र नागरिकको साझा प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । शर्मा भन्नुहुन्छ, “जनताको आर्थिक उन्नति, रोजगारी सिर्जना र जीवनस्तर सुधार मेरो प्रमुख लक्ष्य हुने छ । जनताको अपेक्षा अनुसार काम गर्नु हाम्रो पहिलो दायित्व हो ।”
कम्युनिस्ट आन्दोलनको इतिहास बोकेको रुकुमलाई विकास र समृद्धिको नयाँ उचाइमा लैजान कृषि उत्पादन वृद्धि, स्थानीय स्रोतसाधनको उपयोग र रोजगारीका अवसर सिर्जना गर्न आफूले पहल गर्ने उहाँको योजना छ ।
पार्टीले निर्वाचनको बेला ल्याएको सङ्कल्पपत्र अनुसार काम गर्ने शर्माले बताउनुभयो । सङ्कल्पपत्रमा रहेका पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास तथा सुशासन र वन, वातावरण तथा विपत् व्यवस्थापनका क्षेत्रमा नयाँ योजना र दिगो विकास अवधारणा अनुरूप काम गर्ने उहाँको भनाइ छ । शर्माले राष्ट्रिय गौरवका आयोजना, मध्यपहाडी राजमार्ग, राप्ती राजमार्गलगायतका सडक आयोजना, पुल तथा घर घरमा खानेपानीको सुविधा उपलब्ध गराउन लागि पर्ने बताउनुभयो । स्थानीय अस्पतालमा विशेषज्ञ सेवा, मोबाइल हस्पिटल, टेलिमेडिसिनलगायतका सेवा सञ्चालन गर्नुका साथै हरेक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्र निर्माण गर्ने उहाँको योजना छ । हरेक वडा र बस्तीमा सडक विस्तार गरेर यातायात सेवा प्रभावकारी बनाउने, जिल्लाका सबै बस्तीमा पूर्ण विद्युतीकरण गर्ने, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने, ग्रामीण सहरको अवधारणा कार्यान्वयन गर्ने शर्माले बताउनुभयो ।
२०३४ पुस १२ गते चौरजहारी नगरपालिका–५ को लहरेसिमल गाउँमा जन्मिनुभएका शर्माले स्नातक तहको शैक्षिक योग्यता हासिल गर्नुभएको छ । २०४६ सालमा १२ वर्षको उमेरमै अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध शर्माले विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा प्रवेश गर्नुभएको हो । विद्यार्थी सङ्गठनका विभिन्न जिम्मेवारी वहन गर्नुभएका उहाँ २२ वर्षको हुँदा २०५६ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो । पार्टीको एरिया, जिल्ला, ब्युरो, पोलिट ब्युरो हुँदै केन्द्रीय कमिटी सदस्यसमेत जिम्मेवारी वहन गर्नुभएका शर्माले २०७५ सालमा एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त भएको थियो तर उहाँले आफूले दोहोरो जिम्मेवारीमा नरहने भन्दै उक्त पद अरू सहकर्मीका लागि सुम्पिनुभएको थियो ।
शर्माले जिल्ला र सिङ्गो देशकै माग र आवश्यकताबमोजिम नीति निर्माण गर्ने काममा अहोरात्र खटिने बताउनुभयो । उहाँले भन्नुभयो, “पदमा रहँदासम्म मरिमेटी जनताको काम गर्छु, गर्न सकिन भनेँ कारणसहित जनताको बिचमा आउँछु ।” रुकुमको अधुरो विकासलाई पूरा गर्ने र कम्युनिस्ट विरासत जोगाउने जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले उल्लेख गर्नुभएको छ । आफ्नो विजयसँगै शर्माले जिम्मेवारीप्रति इमानदारीपूर्वक सक्रिय रहने बताउनुभयो ।