हुम्ला समाचारदाता
हुम्ला, चैत ५ गते । हुम्लामा एक महिलाले नागरिकता हराएको १० वर्षपछि प्रतिलिपि पाउनुभएको छ । यति लामो समयपछि नागरिकताको प्रतिलिपि पाउनेमा खार्पुनाथ गाउँपालिका–१ को पिउस गाउँकी दिफकला कामी रहनुभएको छ ।
घुम्ती शिविरमा लगिएको नागरिकता नम्बर स्पष्ट नदिएका कारण हालसम्म प्रतिलिपि पाउन नसकेकी ५४ वर्षकी कामीलाई नागरिकता नम्बर पत्ता लगाएपछि प्रतिलिपि प्रदान गर्ने बाटो खुलेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । उहाँका अनुसार तत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट एउटा टोली घुम्ती शिविरमा जाँदा सो गाउँका कामीलगायत १७ जनालाई नेपाली नागरिकता प्रदान गरिएको थियो ।
नागरिकता हराएकी कामी नागरिकताको प्रतिलिपि लिन कार्यालयमा आउँदा कर्मचारीले उहाँको नागरिकता नम्बर स्पष्ट नभएको भन्दै चार पटकसम्म फर्काएका थिए । पाँचौँ पटक प्रतिलिपि लिन कामी कार्यालयमा आउँदा भने प्रजिअ रेग्मीले घुम्ती शिविरमा कामीसँगै नागरिकता पाएका कुनै एक जनाको नागरिकताको फोटोकपी पनि ल्याउन लगाउनुभयो ।
सोहीबमोजिम आफूसँगै नागरिकता बनाउनुभएका मध्य एक जनाको नागरिकताको प्रतिलिपि लिएर कामी कार्यालयमा आइपुगेपछि उहाँको पुरानो स्रेस्ता पत्ता लगाउन सहज भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । कार्यालयमा कर्मचारीले केही उपाय अवलम्बन गर्न नसकेको कारण कामीले लामो समयसम्म प्रतिलिपि पाउनबाट वञ्चित हुनु परेको उहाँको भनाइ छ । लेखपढ गर्न नजान्ने कामीले बुधबार जिल्ला प्रशासन कार्यालयमा लामो समयपछि नागरिकताको प्रतिलिपि पाउन सफल भएपछि खुसी हुँदै कर्मचारीको इच्छा शक्तिमा सेवा पाउने कुरा भर पर्ने बताउनुभयो । नागरिकताको अभावमा कामी विभिन्न सरकारी सुविधाबाट वञ्चित रहँदै आउनुभएको थियो । अब भने उहाँले राष्ट्रिय परिचयपत्र बनाउने बाटो पनि खुलेको बताउनुभयो ।