• ६ फागुन २०८२, बुधबार

बगैँचा सुधार गरी व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुँदै किसान

blog

सिमकोट गाउँपालिका–५ स्थित स्याउ बगैँचामा बोटको काँटछाँट गर्दै किसान । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन ६ गते । हिमाली जिल्ला हुम्लाका किसान यतिबेला स्याउ बगैँचा काँटछाँट र व्यवस्थापनमा व्यस्त देखिएका छन् । बगैँचामा लगाएका स्याउका बोटलाई काँटछाँटका साथै मल र सिँचाइको व्यवस्था गर्दा फूल राम्रो फुल्ने र फल पनि गुणस्तरीय लाग्ने प्राविधिक सल्लाह पाएपछि किसान बगैँचा सुधारमा लागेका हुन् ।

सिमकोट गाउँपालिका–५ का किसान मानवीर रोकाया विगत पाँच दिनदेखि आफ्नो ५० बोट स्याउ रहेको बगैँचा व्यवस्थापनमा जुट्नुभएको छ । सुरुमा उहाँले सबै बोटको काँटछाँट गरी मल राख्ने खाल्डो खन्ने, सिँचाइ गर्ने र बोटको डाँठमा बोडो पेस्ट लगाउने कार्य गर्नुभएको छ । यसअघि बगैँचाको उचित हेरचाह नगरे पनि गत वर्ष कृषि प्राविधिकबाट तालिम पाएपछि आफू यसतर्फ लागेको रोकायाले बताउनुभयो ।

त्यसै गरी नाम्खा गाउँपालिका–१, हेप्का खोलामा साढे तीन सय बोट स्याउ लगाउनुभएका पासाङ लामाले पनि आफ्नो बगैँचा व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो । हाल फल दिइरहेका स्याउका बोटहरूको काँटछाँट पूरा गरी अहिले सिँचाइको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

हुम्लामा मङ्सिर अन्तिम साताबाटै स्याउ बगैँचा व्यवस्थापन सुरु गर्न सकिने भए पनि उचाइका स्थानमा फागुन महिनाभर काँटछाँट गर्न सकिने कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताउनुभयो।

पन्तका अनुसार हुम्ला जिल्लामा ५० भन्दा बढी बोट भएका बगैँचाको सङ्ख्या १५० भन्दा बढी छ । कृषि क्षेत्रमा काम गर्ने विभिन्न सहयोगी निकायको सहजीकरणका कारण अचेल किसानले बोटको काँटछाँट, मलजल र बोडो पेस्ट लगाउने कार्यलाई प्राथमिकता दिन थालेका छन् । 

किसानको यो सक्रियताले व्यावसायिक स्याउ खेती सुरु भएको र यसबाट उत्पादन वृद्धि हुने कार्यालयले जनाएको छ । हुम्लाका सातवटै गाउँपालिकाको जमिन स्याउ खेतीका लागि उपयुक्त मानिन्छ ।