• १३ साउन २०८१, आइतबार

‘योगमायाको जीवनी र योगदान’ सार्वजनिक

blog

काठमाडौँ, साउन २ गते ।‘योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ । पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् । ८० जनाभन्दा बढी नेपाली लेखकले कलम चलाएको यस पुस्तकको सम्पादन लेखनाथ भण्डारीले गर्नुभएको छ । 

भोजपुर जिल्लाको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उनका अनुयायीले साधना र बलिदानीको काम गरेका थिए । योगमायालाई विद्रोही चेत भएकी, समाज सुधारक, राजनीतिज्ञ, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भीक लडाकू एक साहसी महिलाका रूपमा लिइन्छ ।

योगमायाले सती प्रथा र जातीय प्रथा पूर्ण रूपमा अन्त्य हुनुपर्ने, मानापाथीको दुरुपयोग बन्द गरिनुपर्ने, बालविवाह बहुविवाहको प्रथा तुरुन्त बन्द गरिनुपर्ने, विधवा विवाहलाई पूर्ण रूपमा मान्यता दिनुपर्ने माग अघि सारेकी थिइन् । निरङ्कुश सरकारसँग योगमायाले गरेको पैरवी एक असाधारण साहसका रूपमा लिइन्छ ।