काठमाडौँ, फागुन ५ गते । चीनको नाम्छु सहरसँग भगिनी सम्बन्ध कायम गरेसँगै टोखा नगरपालिकाले पाँच वर्षअघि कोरोना रोकथाम र नियन्त्रणमा उक्त सहरको सहयोग लिएको थियो । विभिन्न स्वास्थ्य सेवाका लागि नाम्छु सहरको सहयोग अहिले पनि टोखा नगरपालिकाले लिँदै आएको छ । धुलिखेल नगरपालिकाले दक्षिण कोरियाको उल्जिन सहरसँग भगिनी सम्बन्ध कायम गरी उक्त सहरका जनप्रतिनिधि र धुलिखेल नगरपालिकाका जनप्रतिनिधिबिच विकास निर्माण, सेवा प्रवाह र सम्पदासम्बन्धी असल अभ्यासका अनुभव आदानप्रदान गर्दै आएको छ । धुलिखेलको ऐतिहासिक कला र सम्पदा अहिले कोरियाको उल्जिन सहरमा समेत विस्तार भएको धुलिखेल नगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिकाले दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम गरी कोरियाका ११ जना कृषि प्राविधिकलाई ललितपुरमा ल्याएर त्यहाँको प्रविधि प्रयोगबारे जानकारी लिइरहेको छ । उनै प्राविधिकको सहयोगमा सुनाकोठीमा कोरियन मोडेलमा ‘ग्रिन हाउस टनेल’ निर्माण हुने बताइएको छ । त्यस्तै महानगरपालिकाले नेपालको सांस्कृतिक चिनोस्वरूप कोरियाको चेओरोन सहरमा नेपालको स्मरणका लागि पुरातात्त्विक शैलीको पाटी निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले चीनको ल्हासा म्युनिसिपालिटीबाट सौर्य बत्ती, भूकम्पको बेलामा आर्थिक सहयोग प्राप्त गरेको थियो । चीनकै नान्जिन सहरबाट फोहोरमैला व्यवस्थापनका लागि ‘कम्प्याक्ट गार्भेज’ ट्रक तथा छेन्दुबाट दुई वटा ‘बु्रमर’ प्राप्त भएको काठमाडौँ महानगरपालिकाकाले जनाएको छ ।
टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले विदेशका सहरसँगको भगिनी सम्बन्धले दुई देशका सहरबिच विकासका मोडेल आदानप्रदान र बाह्य पर्यटन प्रवर्धनमा ठुलो सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशका सहरमा भएका कतिपय विषय यहाँका नगरपालिकाले अहिले कार्यान्वयन गर्न थालेका छन् । यसले वैदेशिक सहरको मोडेल नेपालमा कार्यान्वयन गराउन सहयोग पुगेको छ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भन्नुहुन्छ, “भगिनी सम्बन्ध स्थापनापछि अपेक्षा अनुरूप काम नभए पनि यहाँका स्थानीय सरकारले विकास र प्रविधिमा क्रमिक रूपमा विदेशी अनुभव बुझ्ने र सिक्ने अवसर पाएका छन् ।” उक्त अवसरलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै जाने गरी भगिनी सम्बन्ध कायम भएका छन् ।
नेपालका २७ वटा नगरपालिकाले विदेशका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरी विदेशका सहरले गरेका असल अभ्यास अनुभव साट्न र कार्यान्वयन गर्न सुरु गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । विदेशी सहरको विकास निर्माण र सेवाको प्रकृति हुबहु यहाँ कार्यान्वयन गर्न कठिन भए पनि कतिपय प्राविधिक पक्ष भने नेपालका सहरले कार्यान्वयन गर्ने प्रयास भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार भगिनी सम्बन्ध कायम गर्ने नेपालका स्थानीय सरकारमा महानगरपालिकादेखि गाउँपालिकासम्म छन् । जसमा ललितपुर र काठमाडौँ, भरतपुर महानगरपालिका, जनकपुर, बुटवल, तुलसीपुर, धुलिखेल, टोखा, कीर्तिपुर र बुढानीलकण्ठ आदि नगरपालिका छन् । स्थानीय तहले दक्षिण कोरिया, भारत, चीन, बेलायत, स्पेन, इटाली, संयुक्त राज्य अमेरिका, बेलारुस, म्यानमार र रुसका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् ।
भगिनी सम्बन्धले कतिपय विषय व्यावहारिक रूपमै परिवर्तन भएका छन् । यसले दुई देशबिचको मित्रता थप प्रगाढ बनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा ८ मा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्वस्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्ने भन्ने उल्लेख छ । सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका बनाएर उक्त निर्देशिकालाई परिमार्जन गर्ने तयारी पनि गरेको छ ।