• ३ फागुन २०८२, आइतबार

सामुदायिक विद्यालयमा ‘साना डाक्टर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३ गते । स्कुले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । 

यस कार्यक्रमबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्यदूतका रूपमा विकास गरिने बताइएको छ । महानगरका अनुसार विद्यार्थी स्वयम्, उसको परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमको छ । 

महानगरपालिका स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार यस कार्यक्रममार्फत व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोबियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी पाँच वटा विषयमा प्रशिक्षण प्रदान गरिने छ । 

यो कार्यक्रम पहिलो चरणमा चार वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिने छ । नमुना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा अन्य विद्यालयमा विस्तार गरिने महानगरपालिकाको तयारी छ । न्यौपानेका अनुसार सहपाठी बालबालिकाबिचको आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यव्रmम सञ्चालन गर्न दिइन्छ ।  

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमबारे जानकारी गराइने र उहाँहरूबाट सूक्ष्म पक्ष बुझाउन सके मात्र कार्यान्वयन सहज हुने बताउनुभयो ।