• ३ फागुन २०८२, आइतबार

स्वासप्रश्वास रोगको उपचारका लागि नेशनल चेष्ट सेन्टर सञ्चालनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३ गते । स्वासप्रस्वास सम्बन्धी रोगको उपचार गर्ने उद्देश्यले ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ । एक कार्यक्रमबिच लतिलपुर महानगरपालिका वडा १३ का वडा अध्यक्ष गणेश केसीले उक्त सेन्टरको शुभारम्भ गर्नुभयो । 

सो अवसरमा बोल्दै केसीले विशेषज्ञ क्लिनिकले वडावासीको स्वास्थ्यका लागि सहज हुने बताउनुभयो । उहाँले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्यको आवश्यकता रहेको भन्दै सर्वसुलभ दरमा उपलव्ध गराउन आग्रह गर्नुभयो । 

नेशनल चेष्ट सेन्टरका अध्यक्ष मधुसुदन घिमिरेले बढ्दो क्रममा रहेको श्वासप्रश्वासका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय सेवा उपलव्ध गराउने गरी क्लिनिक खोलिएको बताउनुभयो । उहाँले अहिलेसम्म अन्य रोगका विशेषज्ञ सेवाका लागि क्लिनिक तथा अस्पतालहरु खुले पनि छाती रोगका लागि काठमाडौँ उपत्यकामै खुलेको पहिलो क्लिनिक भएको बताउनुभयो । 

‘सवारी साधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माण कार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला फोहर दहन जस्ता कारणहरूले वायु प्रदूषणको स्तर उच्च बनाएको छ । वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले दम, सिओपीडी, फोक्सोको क्यान्सर तथा मुटुरोगसमेत निम्त्याउने जोखिम बढाउँछ । श्वासप्रश्वास रोग बढ्नुको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हो। यी सबैका कारण श्वासप्रश्वास सम्वन्धी रोग बढ्दो क्रममा छ । त्यसलाई नियन्त्रणका साथै सही विशेषज्ञ सेवा सहज रुपमा उपलव्ध गराउन यो क्लिनिक आएको हो,’ घिमिरेले भन्नुभयो । 

कार्यक्रममा छातीरोग विशेषज्ञ डा राजु पंगेनीले विभिन्न रोगका विशेषज्ञ क्लिनिक भए जस्तै यसपटक श्वासप्रश्वास तथा छाती रोग सम्बन्धी क्लिनिक सञ्चालनमा आएको बताउनुभयो । नेपालमा स्वासप्रश्वास सम्बन्धि रोग बढ्दै गएको भन्दै उहाँले पछिल्लो समय दम, खोकी, सिओपीडी लगायतका समस्या बढीरहेको बताउनुभयो । 

‘विश्वमा बार्षिक ४० करोड दम रोगबाट ग्रतिस छन् । बार्षिक ३० देखि ४० लाख यसका कारण मृत्यु वरण गर्दछन् । अझ ९० प्रतिशत ग्रसितहरु हाम्रो जस्तो विकासोन्मुख मुलुकका नागरिक हुन् । समयमै रोगको पहिचान र उचित उपचार नपाएका कारण हजारौँ नेपालीले ज्यान गुमाउनु परेको छ । यस सेन्टरले थोरै भए पनि त्यसमा राहत दिने छ,’ डा. पंगेनीले भन्नुभयो । 

सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श दिनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विगतका प्रतिवेदनहरूमा पनि दीर्घकालीन स्वासप्रश्वास रोगहरू नसर्ने रोग प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ। नेपालमा हुने कुल मृत्युको झण्डै ९–१० प्रतिशत हिस्सा सिओपीडी लगायतका दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ । दमको समस्या वृद्धवृद्धामा मात्र होइन, बालबालिका तथा युवामाझ समेत बढ्दो क्रममा देखिएको अध्यक्ष घिमिरेले नेशनल चेष्ट सेन्टरले विशेषज्ञ सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो । उहाँले सेन्टरमा वरिष्ठ छाती तथा स्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने बताउनुभयो ।

उहाँले चेष्ट सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षण सम्बन्धि सेवा, सिओपीडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन स्वासप्रश्वास रोगको समग्र उपचार, कोभिड पश्चात फोक्सो परीक्षण क्लिनिक, धूम्रपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप,  अत्याधुनिक स्तरको प्रयोगशाला सुविधा, बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा दिएको जानकारी दिनुभयो।  जसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।

नेशनल चेष्ट सेन्टरको उद्देश्य केवल उपचारमा मात्र सीमित छैन, घिमिरेले भन्नुभयो,“ हाम्रो दीर्घकालीन लक्ष्य स्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धि गर्नु पनि हो।”

सेन्टरले नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना रहेको छ । 

स्वासप्रश्वास रोगको समयमै पहिचान र उपचार नगरेमा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ । प्रारम्भिक अवस्थामा नै परीक्षण तथा उपचार सुरु गर्न सकेमा रोग नियन्त्रण सम्भव हुन्छ । घिमिरेले “रोकथाम नै उपचारभन्दा उत्तम” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेशनल चेष्ट सेन्टरले समग्र, समन्वित र वैज्ञानिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।