साधन घर्ती
म्याग्दी (दरबाङ),फागुन ३ गते । म्याग्दीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–२,बावियाचौर–सल्यान जाने भित्री सडकमा ग्याविन जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिएर रोल्पाको सुनछहरी गाउँपालिका–२, का २८ वर्षीया सत बुढामगरको मृत्यु भएको हो ।
उहाँको प्रादेशिक अस्पताल बेनीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।
सडकमा काम गरिरहेको अवस्थामा गम्भीर घाइते बुढामगरको उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका थिए ।
सडकखण्डमा काम गर्ने मजदुर पुरिएको सूचनापछि इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरीक्षक रनिन्द्र कार्कीको नेतृत्वमा ७ जनाको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा रोल्पा सुनछहरी गाउँपालिकाका ३४ वर्षीया केशमान बुढामगरको दाहिने खुट्टामा चोट लागेको छ भने १९ वर्षीया टेकबिर बुढामगरको सकुशल उद्धार गरिएको थियो । घाइते केशमान र टेकबिर उपचारपछि डिस्चार्ज गरिएको छ ।
मृतक बुढामगरको शव गृहमा राखिएको र पोष्टमार्टमा हुन बाँकी रहेकाले कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइने छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।