• ३ फागुन २०८२, आइतबार

बागलुङ नगरका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न अभियान

blog

होम–स्टे गाउँले परिचित भकूण्डेमा गरिएको पर्यटन प्रवद्र्वन सम्बन्धी कार्यक्रममा सहभागिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ३ गते । जिल्लाको भकुण्डेलाई पर्यटनको गन्तव्य बनाउने अभियानमा सबै क्षेत्रको चासो र चिन्तन बढाउनुपर्ने सरोकारवालाले बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको बागलुङ नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन भ्रमण तथा प्रवर्द्धनात्मक कार्यका लागि अन्तरक्रियामा सहभागिले भकुण्डेलाई पर्यटनको हब बनाउन सकिने बताउनुभयो । त्यसका लागि सडक सञ्जाल स्तरीय बनाउने, होम–स्टेलाई थप व्यवस्थित बनाउने र आधारभूत आवस्यकताको क्षेत्रमा नगरपालिकाले लगानी गर्नुपर्ने उहाँहरुको भनाइ छ । 

अन्तर्क्रियामा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले पर्यटक बढाउन होम–स्टेहरु थप स्तरीय बनाउने, सडक सुधार गर्ने र अतिथि सत्कारका लागि तालिममार्फत गाउँलेलाई दक्ष बनाउने काम गर्नुपर्ने बताउनुभयो । 

‘‘पर्यटक ल्याउने र प्रवर्धन गर्ने तथा तालिम चलाउने काममा हामी साथ दिन्छौं, स्थानीयले राज्यका निकायमा सहकार्य गरेर सडक राम्रो बनाउनुहोस्’’ शाक्यले भन्नुभयो, ‘‘सडक स्तरीय भएमा बागलुङसहित विभिन्न जिल्लाका पर्यटक भकुण्डे लालायित हुनुहुन्छ ।’’

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पर्यटन प्रवद्र्दन गर्न सकेमा बागलुङ नगरका दर्जनौं गन्तव्यमा हजारौं पर्यटक ल्याउन सकिने बताउनुभयो । नगर पर्यटन समितिले उजागर गरेका पर्यटकीय स्थल र नगरेका दर्जनौं स्थलमा पर्यटक भित्राउन सकिने संभावनाबारे उहाँले जानकारी गराउनुभयो । ‘‘स्थानीय खाना खुवाउने, साँस्कृतिक कार्यमा ध्यान दिने र आउजाउ गर्न सकिने सडक चाहिन्छ’ पौडेलले भन्नुभयो, ‘‘यो अभियान सफल बन्दा बागलुङ पर्यटनबाटै आत्मनिर्भर बन्न सक्छ ।’ 

बागलुङ नगरपालिका वडा नं. १० का अध्यक्ष तिलबहादुर थापाले भकुण्डेमा मात्रै दर्जन स्थललाई पर्यटकको आर्कषणमा ल्याउन सकिने बताउनुभयो । भ्युटावर, अतिथि सत्कार होमस्टे, बराहताल, बागलुङ जनजाती संग्राहलय, रुद्रमान स्मृतिपार्क र बराहताल पर्यटकीय स्थल भएको थापाले बताउनुभयो । त्यस बाहेक उत्तरतर्फ देखिने हिमश्रृंखला पर्यटनका लागि अनुपम उदाहरण भएको थापाको भनाइ छ । 

नेपाल पत्रकार महासंघले गरेको प्रवर्धनात्मक कार्यक्रममा भकुण्डेसहित पर्यटकीय गन्तव्यको प्रचार गरी ब्रोसर तयार गर्ने, प्रचार प्रसार गर्ने र स्थानीयलाई जागरुक बनाइ देश विदेशमा समेत पर्यटकीय गन्तव्यको महत्व बढाउने काममा लागेको उपाध्यक्ष सुवास आचार्यले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । स्थानीय होम–स्टे व्यवसायी ज्ञानबहादुर थापा, यामबहादुर थापा र टिका थापाले भकुण्डेको विकास गर्दा छिमेकी वडाको पनि विकास हुने बताउनुभयो । नगरपालिकाले नगरभित्रका दर्जन स्थलको प्रचारका लागि क्युआर कोर्ड समेत बनाएको छ भने सबै विद्यालयमा पर्यटन विद्यार्थी क्लब समेत गठन गरेको छ ।