• ३ फागुन २०८२, आइतबार

लोकतन्त्रमा जनमत

blog

लोकतन्त्र नै नागरिकको आस्था र विश्वासको मुख्य केन्द्र हो । लोकतन्त्रले नै सम्मान र नेतृत्व दिन्छ । जनमतको कदरले मात्र लोकतन्त्र बलियो बनाउँछ । जनमतबिनाको लोकतन्त्र नाम मात्रको हुन्छ । लोकतन्त्रमा सबैलाई अवसर प्राप्त हुने भएकाले विश्वका धेरै मुलुक लोकतान्त्रिक बनेका हुन् । लोकतन्त्रलाई सत्ता प्राप्तिको साधन मात्र बनाउँदा भने यसमा सङ्कट आउँछ । जुन सङ्कटले नेतृत्वलाई नै धराशायी बनाउँछ । पछिल्लो समय बङ्गलादेशमा सेख हसिना वाजेदले १५ वर्षसम्म शासन गर्नुभयो । एकलौटी तरिकाले चुनाव जित्न भयो । उहाँले विपक्षी दललाई बेवास्ता गर्नुभयो । जनताको चाहनालाई सम्बोधन गर्न सक्नुभएन । असन्तृष्टि बढ्यो । जुन अन्ततः उहाँकै लागि अभिशाप बन्यो । सन् २०२४ मा आरक्षित कोटा कटौतीको विरोधमा विद्यार्थी सडकमा उत्रे । विद्यार्थीको नेतृत्वमा ४६ दिनसम्म भएको आन्दोलनले हसिनालाई देश छाड्न बाध्य पा¥यो । आन्दोलनका क्रममा १४ सय मानिस मारिए । हसिना हाल भारत निर्वासनमा हुनुहुन्छ । उहाँलाई मानवताविरोधी काम गरेको आरोपमा बङ्गलादेशको फौजदारी अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । उहाँको दल अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ । जसले गर्दा बिहीबार सम्पन्न आमनिर्वाचनमा सो दलले भाग लिन पाएन । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुईतिहाइ बहुमत ल्यायो । बिएनपीले २१२ सिट जित्यो । प्रतिद्वन्द्वी दल जमात–ए–इस्लामीले ६८ सिट जितेर दोस्रो ठुलो दलका रूपमा उदाएको छ । विद्यार्थी आन्दोलनको नेतृत्व गरेको नेसनल सिटिजन्स पार्टी (एनसिपी) ले छ सिट जितेको छ । एनसिपी विद्यार्थी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री हसिनालाई अपदस्य गरेपछि स्थापना भएको पार्टी हो ।

बङ्गलादेशमा संसद्को तीन सय सिटका लागि निर्वाचन भएको हो । बिएनपीले चुनावमा अब्बल नतिजा ल्याएसँगै पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ । तारिक रहमान बिनपीको अध्यक्ष हुनुहन्छ । उहाँले दुई निर्वाचन क्षेत्रबाट चुनाव जित्नु भयो । निर्वाचन आयोगका अनुसार चुनावमा ५९.४४ प्रतिशत मतदाताले मतदान गरेका थिए । सन् २०२४ मा बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री सेख हसिना वाजेद सत्ताच्युत हुने गरी भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि गठित अन्तरिम सरकारले अहिले निर्वाचन गराएको हो । आजीवन काराबासको सजाय पाएका तारिक रहमान गत डिसेम्बरमा १७ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको थियो । हसिनालाई शरण दिएको विषयलाई लिएर भारत र बङ्गलादेशबिच कूटनीतिक विवाद छ । भारत यो विवाद बढाउने पक्षमा छैन । त्यही भएर भारतका प्रधानमन्त्रीले बिएनपीको जितलाई बधाई दिनुभएको छ । बिएनपीका पक्षमा परिणाम आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबिचको बहुआयामिक सम्बन्ध सुदृढ पार्न र विकासका साझा लक्ष्य अगाडि बढाउन आफू तारिक रहमानसँग सहयकार्य गर्न तयार भएको सन्देश दिनुभएको छ । चीनले पनि निर्बाध र सफल निर्वाचन भएकोमा बङ्गलादेशलाई र अग्रस्थानमा रहेकोमा बिएनपीलाई बधाई दिएको छ । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले यो निर्वाचन गराएको हो । करिब पाँच सय अन्तर्राष्ट्रिय पर्यवेक्षक टोलीले निर्वाचन निष्पक्ष भएको बताएको छ । बङ्गलादेश सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको हो । 

उता जापानका प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई पनि दुईतिहाइ बहुमत प्राप्त भएको छ । फेब्रुअरी ८ मा सम्पन्न संसदीय आमनिर्वाचनमा उहाँको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले दुईतिहाइ बहुमत ल्यायो ।  प्रधानमन्त्री सानेले आफ्नो लोकप्रियताबाट प्राप्त यो चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो प्रयासले जापानलाई अझ बलियो र समृद्ध बनाउने दाबी गर्नुभयो । मत गणनाको नतिजा अनुसार उहाँ नेतृत्वको एलडिपीले ३१६ सिट जित्दै ४६५ सदस्यीय तल्लो सदनमा दुईतिहाइ बहुमत हासिल गरेको छ । जापान इनोभेसन पार्टीसँगको गठबन्धनसहित सत्तारूढ गठबन्धनको कुल सिट सङ्ख्या ३५२ पुगेको छ । यसै गरी थाइल्यान्डमा पनि प्रधानमन्त्री अनुतिन चार्नभिराकुलको सत्तारूढ भुमजैथाई पार्टीले चुनाव जितेको छ । त्यहाँको पाँच सय सदस्यीय प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चार सय सिटका लागि फेबु्रअरी ८ मा भएको निर्वाचनमा भुमजैथाई पार्टीले १९४ सिटमा विजय हासिल छ । यो जितसँगै प्रधानमन्त्री अनुतिन सत्तामै रहने निश्चित भएको हो । अतः नेपालका असल मित्र बङ्गलादेश, थाइल्यान्ड र जापानमा सम्पन्न निर्वाचनले नयाँ जनादेश दिएको छ । तीन देशको नेतृत्वलाई सफलता मिलोस्, नेपालको यही कामना छ ।