• २ फागुन २०८२, शनिबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र प्रथम

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँकार्यपालिकाका सदस्यहरू । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), फागुन २ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा मुस्ताङका पाँच स्थानीय तहमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रथम भएको छ । 

चालु आर्थिक वर्षका लागि विभिन्न एघार सूचकको आधारमा भएको कार्यसम्पादन मूल्याङ्कनमा वारागुङ मुक्ति क्षेत्रले ७४.७९ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो । 

दोस्रो स्थानमा उपल्लो मुस्ताङमा रहेको लो घेकर दामोदरकुण्डले विभिन्न सूचकको आधारमा ६९.२९ प्रतिशत पाएको छ । तेस्रो सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिका ६२.१६ प्रतिशत अंक प्राप्त गरेको छ । 

त्यसैगरी लोमन्थाङ गाउँपालिका ५८.५२ प्रतिशत र थासाङ गाउँपालिका ५८.३७ प्रतिशत अंक हासिल गरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकका प्रबक्ता प्रमेश गुरुङले जनप्रतिनिधि, कर्मचारीको मेहनतको नतिजा भएको बताउनुभयो । प्रबक्ता गुरूङले भन्नुभयो, ‘‘सूचकसँगै गाउँपालिकाबासीले समेत देख्नेगरी काम गरिरहेका छौ, यस नतिजाले उत्साहितसँगै थप जिम्मेबारी बनाएको छ ।’’

गाउँपालिकाले प्रवाह गर्ने सेवा, वित्तीय सुशासन, बेरुजु न्यूनीकरण, वार्षिक समीक्षा, बजेटको मितव्ययी प्रयोग, योजना कार्यान्वयन लगायत विभिन्न सूचकहरूमा जिल्लाको अन्य स्थानीय तहको तुलनामा अब्बल रहेको छ । 

हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनी क्षेत्रमा आउने भक्तजनको सहजतासहित बस्तीस्तरमै पुगेर योजना सम्झौता, सेवा प्रवाहमा सेवाग्राहीमैत्री कार्य सञ्चालनलाई गाउँपालिकाले प्राथमिकता दिएको छ ।