अमरराज नहर्की
तनहुँ, फागुन ३ गते । तनहुँको सदरमुकाम दमौलीदेखि व्यास नगरपालिका–१४ को केशवटार जोड्ने दमौली–केशवटार सडकखण्डको गुँदी भाग कालोपत्र सम्पन्न भएको छ ।
कूल १४ किलोमिटर दूरी रहेको यस सडकको हालसम्म ९ किलोमिटर भाग कालोपत्र भइसकेको छ भने ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । यसअघि ७ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएकोमा गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा थप दुई किलोमिटर सडक ढलान, नाला निर्माण तथा विस्तारको काम सम्पन्न गरिएको व्यास नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले सडक स्तरोन्नतिलाई नगरको प्राथमिकतामा राखेर चरणबद्ध रूपमा बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले हालसम्म करिब चार करोड रुपियाँ विनियोजन गरिसकेको छ भने प्रदेश सरकारबाट थप एक करोड रुपियाँ विनियोजन भएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको करिब छ करोड रुपियाँ ऋण अनुदान स्वीकृत भई दोस्रो चरणको काम अघि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
वडा १४ का वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले समेत सडक स्तरोन्नतिप्रति चासो व्यक्त गर्दै ध्यानाकर्षण गराएपछि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । व्यास नगरपालिका–१३ की वडा सदस्य मधुमाया विकले सडक सुधार भएसँगै दैनिक उपभोग्य सामग्री ढुवानी र बिरामीलाई अस्पताल पुर्याउन सहज भएको बताउनुभयो ।
उक्त सडकलाई केशवटार, धरमपानी र बन्दीपुर हुँदै पृथ्वी राजमार्गको डुम्रेसँग जोडेर चक्रपथका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । पर्यटकीय नगरी बन्दीपुर पुग्ने छोटो तथा वैकल्पिक मार्गका रूपमा विकास हुँदा जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको व्यास नगरपालिका १४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताउनुभयो ।