आज नेपालीको विशेष दिन हो– ‘सेना दिवस, २०८२’ । यस अवसरमा आफ्नो जिउज्यानको पर्बाह नगरी स्वदेश तथा विदेशसम्म अहोरात्र खटिएका विश्वभरि ख्याति प्राप्त नेपाली वीर सपुतहरूको संस्था सेनाको वस्तुचित्रण गर्नु यहाँ अति सान्दर्भिक हुने छ ।
संविधान लिखित होस् या अलिखित, देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु जुनसुकै मुलुकका सेनाको प्रमुख जिम्मेवारी हुन्छ । संविधानमा उल्लिखित यी सबै जिम्मेवारीबोध अनुसार नै सैनिक रणनीति, सैनिक नीति, सङ्गठनात्मक स्वरूप, व्यावसायिकता र उसका क्रियाकलाप तथा तालिम परिलक्षित हुन्छन् । सैनिक नेतृत्वले यी सबै कुरालाई गम्भीरताका साथ मनन गरी सैनिक शक्तिको प्रयोगबाट राष्ट्रिय सुरक्षा मजबुत पार्न रणनीतिक मार्ग प्रशस्त गरिदिन्छन् । राष्ट्रभित्र रहेका सबै जातजाति, धर्म, वर्ग, समूह, उपसमूह तथा तिनका विचार, सामूहिकता, भ्रातृत्व, सहिष्णुतालाई एकसूत्रमा राखे मात्र राष्ट्रिय एकता कायम हुन्छ भन्ने मान्यता सैनिक रणनीतिज्ञले राख्छन् । एक योग्य नेतृत्वमुनि अडिएको सेना सबै प्राकृतिक विशिष्टतामा आधारित छ भने यसको भौतिक वा अभौतिक तवरले चित्रण गर्न सकिने रहेछ ।
रणनीतिक एकीकरण
आँखा चिम्म गरेर कल्पना गरौँ, त्यो ऐतिहासिक कालखण्डमा दौरासुरुवाल (कतै कछाड), टोपी, प्रायः खाली खुट्टा अनि खुँडाखुकुरी भिरेर ढोलक, जङ्गी निसान पछि पछि र बिगुलका आवाजले अगाडिको सन्नाटा चिर्दै वीर गोर्खाली सैनिक एकपछि अर्को युद्ध छिचोल्दै कसरी बढ्थे होलान् । सारा जनता, युवादेखि वृद्ध, नारी वा पुरुष सबै एक सङ्कल्पका साथ राष्ट्रनिर्माता पृथ्वीनारायण शाह योद्धाको पछाडि शीघ्रगामी चित्र ।
पछिल्ला कालखण्डमा पर्सियाका सैनिक रणनीतिज्ञ कार्ल भों ल्काउज्विट्जले यस्तो समीपतालाई विशेष व्याख्या गरेका छन् । युद्ध जस्ता महाअभियानमा शासक, जनता र सेनाको ऐक्यबद्धतालाई ‘ट्रिनिटी’ भनियो; जुन रणनीति युद्धमा मात्र नभई हरेक राष्ट्रिय अभियानमा लागु हुन्छ । यही आदर्शमा नेपाल एकीकरण अभियान सफल हुँदै गएको हो– पूर्व, पश्चिम र दक्षिण अनि उत्तर, चारै दिशातर्फ । प्रख्यात इतिहासकार लुडविग एफ स्टिलरले ‘दी राइज अफ दी हाउस अफ गोर्खाज’ पुस्तकमा ब्रिटिसको विस्तारवादी नीतिविरुद्ध लाग्न नेपालको एकीकरण अभियान रणनीतिक र अपरिहार्य थियो भनी उल्लेख गरेका छन् ।
पृथ्वीनारायण शाहको विजय अभियान अन्तर्गत मकवानपुरको लडाइँमा विदेशीहरूबाट हात परेका हतियारबाट नेपाली सेनाको पाँच कम्पनी (गुल्म) स्थापना गरिएपछि यसको गौरवमय इतिहास सुरु भयो । यो नै नेपाली सैनिक सङ्गठनको रणनीतिक विकासको प्रारम्भ हो ।
रणनीतिक यात्रा
पृथ्वीनारायणले आफू २० वर्षको हुँदादेखि नै नेपालीलाई स्वतन्त्र, आत्मनिर्भर, स्वाभिमानी, वीर, पौरखी र समृद्ध पार्न रणनीति कोरेका थिए । तर ५१ वर्षको उमेरमा उनको देहावसान हुन गयो । एकीकरण अभियान रोकिएन, जुझारू सैनिकले नेतृत्वलाई साथ दिइरहे । दक्षिण, पूर्व र पश्चिमतर्फको एकीकरण अभियान सन् १८१५ सम्म यथावत रह्यो । उत्तरतिरको अभियान सन् १८५६ नै अन्तिम बन्यो । पछिल्ला कालखण्डका पनि सैनिक नेतृत्वले धेरै वर्षसम्म यसरी निर्माण गरिएको अभिभाज्य राष्ट्रको जिम्मेवारी बोक्दै आए । नेपाली सैनिक विश्व परिचित हुने क्रम चलिरह्यो ।
पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यलाई सघाउन नेपालबाट ठुलो सङ्ख्यामा फौज सम्मिलित भएका थिए । श्री ३ जुद्ध शमशेर र चन्द्र शमशेरको पालामा विश्वका धेरै युद्धग्रस्त क्षेत्रमा खटिँदा उनीहरूको पराक्रम अतुलनीय रह्यो । अनगन्ती नागरिकले इमानदारपूर्वक ज्यानको बाजी थापेर वीरता प्रस्तुत गरे । न्युरोड गेटको छेउमा ठडिएको त्रिचन्द्र मिलिटरी अस्पताल त्यसैको एउटा द्योतक हो ।
पहिलो र दोस्रो विश्व युद्धलगायत सन् १९५८ देखि नै शान्ति स्थापनामा खटिएका नेपाली सेनाबारे एउटा अनौठो संयोग के देखिन्छ भने सेना विगतदेखि आजसम्म विदेशमा अटुट खटिएको छ । जहाँ, जुनसुकै परिस्थितिमा खटिए पनि वीर गोरखाली सैनिक सबै अवस्थामा विश्व शान्तिका लागि नै समर्पित थिए । यो संयोग विश्वका सबै देशको हकमा लागु भएको पाइन्न ।
सन् १९७० को दशकमा चीन स्वशासित तिब्बतबाट भागी आएका खम्पाहरूले तिब्बततर्फ सशस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्न नेपालको मनाङ मुस्ताङ जिल्लाको उत्तरी भेगमा क्याम्प खडा गरी बसेका थिए । नेपालबाट चीनविरुद्ध गतिविधि गर्न खोज्ने ती तिब्बती खम्पाहरूलाई शीघ्र धपाउनु रणनीतिक लक्ष भएकाले नेपाली सेनाले ती खम्पालाई निःशस्त्रीकरण ग¥यो । केही लडाकु र कमान्डर मारिए, जसले गर्दा नेपाल–चीन सम्बन्धमा ठुलो विश्वास स्थापित हुन पुग्यो ।
विसं २०५२ फागुन १ गतेबाट सुरु भएको माओवादी दसबर्से सशस्त्र विद्रोहले देशमा अकल्पनीय हत्या, हिंसा र आतङ्क फैलायो । यसलाई रोकथाम गरी संविधानको रक्षार्थ र जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सेनाको रणनीतिक परिचालन भयो । सेनाको महत्वपूर्ण र प्रभावकारी कार्बाहीबाट आज देशले शान्तिको सास फेर्न सकेको छ । यद्यपि उक्त सशस्त्र विद्रोहले नेपालको विकासको गतिलाई धेरै वर्ष पछि धकेल्यो र आजसम्म हामीले यसको असर अनुभव गर्नु परेको छ ।
यात्राको निरन्तरता
आज नेपाली सेना मूलतः बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, विपत् व्यवस्थापन, विकासनिर्माण, प्रकृति संरक्षण, मुलुकका महत्वपूर्ण संरचना तथा अति विशिष्ट व्यक्तिहरूको सुरक्षा र संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ जस्ता कार्यमा कटिबद्ध छ । प्रख्यात युद्ध रणनीतिज्ञ लिडल हार्टका अनुसार ‘आफ्नो लक्ष हासिल गर्न सैनिक शक्तिलाई प्रयोग गर्ने कला’ लाई रणनीति भनिन्छ । रणनीतिभन्दा माथि महारणनीति रहेको हुन्छ; जसले दीर्घकालीन हितलाई सर्वोपरि ठान्छ । सैनिक नेतृत्वले कूटनीति, सैनिक नीति र महारणनीतिसमेतलाई मनन गरेका हुन्छन् ।
हाम्रासामु अकस्मात् आइपरेको यसै वर्षको बहुपरिचित जेनजी आन्दोलनको समय राष्ट्रिय सङ्कट समाधानमा सेनाले खेलेको विवेकी भूमिका यसको उदाहरण हो । जनताको करबाट पालित पोषित सेनालाई राष्ट्रको शक्तिका रूपमा विकास गरेकाले नै जेनजी नवयुवाहरूका साथै सबै यो सङ्कटपूर्ण अवस्थामा सेनाको अहम् भूमिकाप्रति अनुग्रहित भए ।
नेपाली सेना सधैँ जनप्रेमी भएको पाइन्छ । सेनाका निर्णयले धेरैको मन जित्न सकेको छ; जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको मानसम्मान गर्बिलो भएको छ । आज गाउँसहर जहाँ पनि नेपाली सैनिक जवान देखेमा आफ्नो छोरा वा छोरी सम्झी सबैले गर्व महसुस गर्छन् । फागुन २१ गते हुन लागेको आसन्न निर्वाचन सुरक्षाको प्रत्याभूति प्रदान गर्न सेना परिचालित भइसकेको छ । विश्व बन्धुत्वको आदर्श अनुरूप सबै मित्र राष्ट्रसँगको सद्भावमा अन्तर्राष्ट्रिय साथै क्षेत्रीय सम्पर्क स्थापना गरी राष्ट्रको सौम्य शक्ति प्रवर्धन र सम्बर्धन गर्न नेपाली सेनाको अहम् भूमिका छ ।
सङ्क्षेप
नेपाली सेना गैरराजनीतिक, भरपर्दो, सुसङ्गठित र बहुआयामिक छ । समयसापेक्ष रणनीतिबाट नागरिक–सैनिक सम्बन्धका हरेक सकारात्मकतामा सेना बाँधिएको छ । सैनिक सङ्गठनभित्र केही अपरिहार्य आधार स्तम्भ जस्तै– जनआस्था, व्यावसियकता, सङ्गठनप्रति निष्ठा र गौरव, गौरवपूर्ण सेवा, पेसागत उच्चता र दायित्व बोध एथेष्ट रहेको बुझ्न सकिन्छ । सेनाले परम्परागत र गैरपरम्परागत जिम्मेवारी निर्वाह गर्न विशिष्टता हासिल गरेको छ । माथि उल्लिखित सबै घटनाक्रमलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले विश्लेषण गरिएमा सेनाको रणनीतिक महìवबारे सबैलाई अझ प्रस्ट हुने छ ।
एक सक्षम सेनाले मात्र देश र जनताको रक्षा, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान, आत्मबल, सम्मान, राष्ट्रिय एकता अक्षुण्ण राख्न सफल हुन्छ भन्नेमा कुनै विवाद छैन । यसका लागि सेनाको निरन्तर र क्रमिक आधुनिकीकरण हुनु पर्छ । भूरणनीतिक यथार्थले भविष्यमा हामीलाई अलग्गै बस्न दिने छैन । पृथ्वीनारायणको दिव्य उपदेशबमोजिम नेपाल ‘दुई ढुङ्गाबिचको तरुल’ भन्ने कुरा हामीले बिर्सन हुन्न । विश्व व्यवस्थाका परिवर्तनीय र अकल्पनीय परिस्थितिमा हामीले नेपालमा पनि एक बलियो सेनाको दूरदृष्टि राख्नु पर्छ ।
(शर्मा नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हुनुहुन्छ ।)